३० आश्विन २०८३, शुक्रबार

आजको मौसम, कहाँ–कहाँ छ पानी पर्ने सम्भावना ?

0
Shares


काठमाडौं । मौसम पूर्वानुमान महाशाखा आज देशका पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको जनाएको छ । महाशाखाले आज जारी गरेको दैनिक मौसम पूर्वानुमान बुलेटिन अनुसार दिउँसो कोसी प्रदेशलगायत बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको हो ।

यसैगरी दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू‍भागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ । आज दिउँसो काठमाडौँ उपत्यकामा पनि क्षणिक वर्षाको सम्भावना देखिएको छ । तर यो सम्भावना केवल २० प्रतिशत रहेको मौसम महाशाखाले जनाएको छ ।

यस्तै आज राति पनि बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाका अनुसार अहिले बिहान भने देशभर मौसम आंशिकदेखि साधारणतया बदली रही देशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।