काठमाडौं ।नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) पशुपति बहुमुखी क्याम्पस समितिको अध्यक्ष अर्जुन घर्ति मगरलाई सभापतिको उम्मेदवारीको लागि सिफारिस गरिएको छ । आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा सभापतिका लागि उनी सर्वसम्मतले सिफारिस भएका हुन् । उनले विद्यार्थीका हक, हित र अधिकारको रक्षा गर्दै गुणस्तरीय तथा समान पहुँचयुक्त शिक्षा सुनिश्चित गर्ने प्रतिबद्धतासहित उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् ।

घर्ति मगरले वैज्ञानिक, गुणस्तरीय, र सर्वसुलभ शिक्षाको सुनिश्चितता, शिक्षाको व्यापारीकरण अन्त्य गर्दै निःशुल्क तथा सुलभ शिक्षा व्यवस्था लागू गर्न दबाब सिर्जना गर्ने बताएका छन्। उनले क्याम्पसमा छात्रवृत्ति, पुस्तकालय, र प्रयोगशाला सुविधाहरूलाई प्रभावकारी बनाउने, भ्रष्टाचार, अनियमितता तथा शैक्षिक संस्थामा हुने ढिलासुस्तीको अन्त्य गर्न विशेष पहल गर्ने एजेन्डा रहेको बताएका छन् ।
त्यसैगरी, खेलकुद, संस्कृति, र सिर्जनात्मक क्रियाकलापको प्रवर्द्धन, विद्यार्थी कल्याणकारी कोष स्थापनामार्फत आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहायता उपलब्ध गराउने समेत उनको योजना छ। एक भोट विद्यार्थी हकहित, परिवर्तन, र न्यायको लागि अमूल्य हुने बताउँदै उनले सबै विद्यार्थीलाई भोट दिन आग्रह गरेका छन्।

कार्यक्रममा अखिल (क्रान्तिकारी) केन्द्रीय महासचिव रोशन थापा मगर प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने, विशेष अतिथिको रूपमा पूर्व केन्द्रीय समिति सचिव मदन लिम्बू, अखिल (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश सचिव रमेश आचार्य, पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद रिजाल, सुदन बडाल, जल बहादुर बुढा, कमल न्यौपाने, विषम स्यन्ताङ तथा नवनिर्वाचित केन्द्रीय सदस्य प्रशान्त कठायतलगायत सहभागी थिए।
