३० आश्विन २०८३, शुक्रबार

उपसभामुख रानाले भनिन् – ‘आरोपहरू राजनीतिक षड्यन्त्र, मेरो काम बाल संरक्षणमा समर्पित’

0
Shares


काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले आफूमाथि लागेका मानव बेचबिखनका आरोपहरूलाई राजनीतिक षड्यन्त्रको संज्ञा दिँदै पूर्णरूपमा खारेज गरेकी छिन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले संवैधानिक परिषद्मा नेपाली काँग्रेसको प्रतिनिधित्व नहुनु र आफ्नो विपक्षी भूमिकाका कारण यस्ता आरोपहरू लगाइएको बताइन् । उनले यी आरोपहरूले आफूलाई विचलित नगर्ने र अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।

उनले भनिन्, ‘संवैधानिक परिषद्मा काँग्रेसको कुनै प्रतिनिधि नहुनु र म विपक्षी सदस्य भएकाले ठूला दलहरूले बहुमत सिद्ध गर्न मलाई हटाउन खोजेका हुन्’ उहाँको दृढ अडान छ ।

नेकपा (एमाले)का सांसद योगेश भट्टराईले लगाएको ‘मानव बेचबिखन’को आरोपलाई उनले आधारहीन भएको बताइन् । उनले भनिन्, ‘बेचिएका भनिएका बच्चाहरूले एक वर्षअगाडि नै मिडियामा आएर स्पष्ट पारिसकेका छन् । यो आरोप भट्टराईले बिना अध्ययन लगाउनुभएको हो ।’

उनले आफ्नो संस्था पीए नेपालले जेलमा परेका अभिभावकका बच्चाहरूलाई ट्रान्जिट संरक्षण र हेरचाह मात्र प्रदान गरेको प्रष्ट्याइन् । ‘हामी गरीब परिवारका बच्चाहरूलाई हेरचाह गर्छौं, शिक्षा दिन्छौं । तर, बेचबिखन होइन ।’ उनले भनिन् ।

आरोपहरूको खण्डनका लागि बच्चाहरू र अभिभावकहरू नै मुख्य प्रमाण भएको उनले बताइन् ।

‘बच्चाहरू नै मिडियामा बोलेर स्पष्ट पारिसकेका छन् । नेताहरूले बच्चा वा अभिभावकसँग सोध्नुपर्छ, तर बच्चाहरूको गोपनीयतामाथि राजनीति गर्नु संगीन अपराध हो ।,’ उनले थपिन्, ‘यो राजनीति नै हो, नत्र यो विषय पहिल्यै सुल्झिसक्थ्यो। अभिभावकका ठेगाना हामीसँग छन्, सोध्न सकिन्छ । मैले संस्था छोडिसकेँ, तर बच्चाहरूले ‘आमा’ भन्दा भेट्न जान्छु । म सञ्चालक मात्र होइन, आमा बनेर हुर्काएकी हुँ ।’