काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता विवाद समाधान गर्न सर्वाधिकार सम्पन्न केन्द्रीय प्रतिनिधिलाई केही दिनका लागि फिल्डमा पठाउने प्रश्ताव गरेका छन्। पार्टी केन्द्रिय कार्यालयमा सम्पन्न कार्यसम्पादन समितिको बैठकमा आफूले यस्तो प्रश्ताव राखेको महामन्त्री थापाले बताए । उनले पार्टीको १५ औँ महाधिवेशनेको कार्यतालिका बिथोल्न केही जिल्लामा बद्नियतका साथ क्रियाशीलको काम रोकिएको भन्दै त्यस्ता स्थानमा केन्द्रबाट प्रतिनिधि पठाउनुपर्ने बताए ।
उनले समस्या समाधान नभएका क्षेत्रमा पुरानै क्रियाशीलताको आधारमा संगठनात्मक कार्य अगाडि बढाउनुपर्ने समेत बताएका छन्। । उनले विवाद सिर्जना गरेर महाधिवेशनको कार्यतालिका बिथोल्ने जिल्लाहरुलाई महाधिवेशनमै सहभागि हुन नपाउनेसम्मको कारबाही गर्ने प्रश्ताव समेत आफूले राखेको बताए । उनले वडा र क्षेत्रको महाधिवेशनको कार्यतालितामा आवश्यक संशोधन गर्न सकिने भएपनि केन्द्रिय महाधिवेशनको कार्यतालिका तलमाथि नहुने स्पष्ट पारे ।
उनले भने , ‘क्रियाशीलका सन्दर्भमा धेरै ठाउँहरुमा विवादहरु छन् । केही ठाउँहरुमा बद्नियतको साथ क्रियाशीलको काम अगाडि बढ्न दिइएको छैन । यो कुरालाई लिएर आज मैले एउटा प्रश्ताव गरेको छु । क्रियाशील सदस्यको विषयमा स्वभाविक रुपले विवाद भएको र बद्नियत राखिएको ठाउँहरुमा नेपाली काँग्रेसको यो बैठकले तत्कालै सर्वाधिकार सम्पन्न प्रतिनिधि केही दिनका लागि तल फिल्डमै पठाउने प्रश्ताव राखेको छु । तल गएका साथिहरु विधानले दिएको अधिकार प्रयोग गरेर क्रियाशीलको विवाद टुंग्याउनुहुन्छ । त्यसो गर्दाखेरी बहुसंख्यक ठाउँहरुमा हाम्रो क्रियाशीलको विवादहरु टुंगिन्छ । त्यसो गर्दा पनि समस्या समाधान नभएको क्षेत्रमा पुरानै क्रियाशीलताको आधारमा कामहरु अगाडि बढ्छ कि त्यो ठाउँले महाधिवेशनमा भाग लिन पाउँदैन । एकदुई जिल्लामा विवाद खडा गरेर महाधिवेशन प्रभावित गर्ने कार्य हुन्छ भने त्यही अनुसारको कारबाही हुनुपर्छ भन्ने मेरो प्रश्ताव हो । यसो गर्दा पनि हामीले अहिले बनाएको कार्यतालिकालाई केही सामान्य संशोधन गर्नुपर्ने हुन्छ । यो संशोधन गरेर पुस १६ गते गर्ने भनिएको वडा अधिवेशन पुस २१ गते गरौँ र २३ गते क्षेत्रीय अधिवेशन गरौँ । त्यसपछि तोकिएकै मितिमा हामीले केन्द्रीय महाधिवेशन गर्ने हो । महाधिवेशनको अन्तिम तिथिमिति चलाउनु हुदैन, पाइँदैन ।’
उनले पार्टी सभापति शेरबहादुर देउवाले कार्यवाहक दिएको भएपनि आफैं शक्ति अभ्यास गरिरहेकोप्रति आपत्ति जनाएका छन्। ।
