काठमाडौं।नेपाली कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहालले जेन–जी आन्दोलनले राजनीतिक नेतृत्वलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा उनले अब नयाँ संकल्प र प्रतिवद्धतासहित जनताको आवश्यकतालाई सम्बोधन गर्ने कि आफ्नो औचित्य सकिएको स्वीकार गर्दै पन्छिने भन्ने निर्णायक अवस्थामा राजनीति पुगेको बताए । अध्यक्ष दाहालले देश अहिले विरलै देखिने गम्भीर संकटबाट गुज्रिरहेको उल्लेख गर्दै यसको समाधान सर्वपक्षीय सहमति र संकल्पबाट मात्रै सम्भव हुने धारणा राखे । उनले सबै राजनीतिक शक्ति मिलेर अघि बढ्ने वातावरण बन्दै गएको बताए। उनले देश अन्योलमा छैन भन्ने सन्देश प्रधानमन्त्रीले दिन सफल भएको भन्दै उनले त्यसका लागि धन्यवाद व्यक्त गरे ।उनअनुसार अहिले जनता र राजनीतिक दलहरू निर्वाचनको कुनै विकल्प छैन भन्ने निष्कर्षमा पुगेका छन् ।
अध्यक्ष दाहालले भने – ‘जेन–जी आन्दोलनले आत्मसमीक्षा गर्न उत्प्ररित ग¥यो । हामी सबैका अगाडी आत्मसमीक्षा गर्न जरुरी छ । नयाँ संकल्प र प्रतिवद्धतासहित जनताको अवश्यकतालाई अगाडी बढ्ने वा आफ्नो औचित्य सकियो भनेर पन्छिने अवस्था बनाइदिएको छ । यो देश निकै अप्ठ्यारो परिस्थीतिबाट ग्रुजिएको छ । यो विरलै आउने संकट हो । हामीले यो संकटको समाधान गर्ने भनेको सर्वपक्षिय सहमतीबाट अघि बढ्नुपर्छ । सर्वपक्षिय संकल्पबाट अघि बढ्ने वातावरण बनेको छ ।’
अध्यक्ष दाहालले विकास र समृद्धिका लागि निजी क्षेत्रको भुमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको बताए। निजी क्षेत्रलाई प्रोत्साहन नगरेसम्म देशले आर्थिक प्रगति हासिल गर्न नसक्ने उनको भनाइ थियो । उनले शान्ति, स्थायित्व र समृद्धि आजको मुख्य आवश्यकता भएको उल्लेख गर्दै त्यसका लागि निर्वाचन सम्पन्न गर्नु र आगामी सरकारमार्फत संविधान संशोधन गर्नु नै दीर्घकालीन समाधान भएको बताएका छन्।
