३० आश्विन २०८३, शुक्रबार

विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय समितिबाहेक अरुलाई नभएको कांग्रेसको प्रष्टीकरण

0
Shares


काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय समितिबाहेक अरुलाई नभएको जनाएको छ ।

बुधबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मानिकट समूहले पुस २७ र २८ गते विशेष महाधिवेशनको आह्वान गरेका थिए । लगत्तै पार्टीका तर्फबाट विज्ञप्ति निकाल्दै केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विशेष महाविधेशनमा सहभागी नहुन अपिल गरेका हुन ।

पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने विज्ञप्तीमा उल्लेख छ । ५४ प्रतिशत विशेष महाधिवेशन पक्षधरहरूले पुस २७ गतेदेखि विशेष महाधिवेशन गर्ने भनेका छन् । त्यसतर्फ लक्ष्य गरी कांग्रेसले उक्त कार्यक्रममा नजान भनेको हो ।

साथै कांग्रेसले विशेष महाधिवेशन बोलाउने अधिकार कुनै व्यक्तिलाई नहुने उल्लेख गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको सर्वसम्मत् निर्णयबाट कार्यतालिका तयार गरी अधिवेशन–महाधिवेशनको प्रकृया र कार्यक्रमहरू संचालन भैरहेको अवस्थामा, सोही अवधिभित्र माग गरिएको विशेष महाधिवेशनको औचित्य समाप्त भएको विज्ञप्तीमा उल्लेख छ ।

पार्टीको विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको समेत विज्ञप्तीमा उल्लेख छ ।