काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त भएको बताएका छन् ।मानवअधिकार सङ्गठन र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आज यहाँ आयोजना गरेको ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन, सहभागिता’ शीर्षकको कार्यक्रममा उनले संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वको लागि निर्वाचन अनिवार्य भएको बताए।
उनले भने “मानवअधिकार र पीडितको पक्षमा सँधै लाग्नेछु । दण्डहिनताका पक्षमा म छैन, मुलुक कालोसूचीमा पर्ने गरी दण्डहिनतालाई प्रश्रय दिँईदैन,”
निर्वाचनको सुरक्षाका लागि सरकारले सबै व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । जेनजी पुस्तालाई भोट हाल्न पाउने र राज्यको मूल धारमा आउने वातावरण बनाइएको उनले बताए।राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि माया शर्माले लोकतन्त्रको स्थायित्वको लागि एकमात्र विकल्प निर्वाचन भएको बताए।नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले निर्वाचनको वातावरण बनाउन मिडियाले सहयोग गरेका बताए ।