१ कार्तिक २०८३, शनिबार

सङ्गठित अपराधमा लामिछानेलाई उन्मुक्ति दिनखोज्नु आपत्तिजनक : जेनजी मुभमेन्ट

0
Shares


काठमाडौं। जेनजी मुभमेन्ट नेपालले सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई उन्मुक्ति दिन खोजिएको भन्दै कडा आपत्ति जनाएको छ ।जेनजी मुभमेन्टले विद्रोहलाई अपहरण गर्दै सत्ता ब्जामार्फत बनेको सुशीला कार्की नेतृत्वको सरकार र उनले नियुक्ति गरेका महान्यायाधिवक्ताबाट अपराधीलाई उन्मुक्ति दिने कार्यले कानुनको सर्वोच्चता कमजोर पारेको आरोप लगाएको छ। यस्तो कार्य लोकतान्त्रिक मूल्य, पीडितको न्याय र राज्यको जिम्मेवारीविरुद्ध भएको मुभमेन्टको ठहर छ ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालबाट शक्तिको दुरुपयोग गरी १६–१७ वर्षका किशोरीहरूलाई बेहोस बनाई डिम्ब बिक्री गर्ने जघन्य अपराधमा संलग्न गिरोहलाई गैरकानुनी रूपमा संरक्षण गरिएको घटनापछि नै आफूहरूले तत्काल बर्खास्तीको माग गरेको मुभमेन्टले जनाएको छ।मुभमेन्टले सुशासन र कानुनी राज्य स्थापनाका लागि भएको जेनजी विद्रोहका ७६ जनाले ज्यान गुमाएको र तीनहजार भन्दा बढी अङ्गभङ्ग भएको स्मरण गर्दै ऐतिहासिक बलिदानमाथि अपराधी संरक्षण गरेर खेलवाड गर्नु गम्भीर आपत्तिजनक भएको जनाएको छ ।भाद्र २४ गते रवि लामिछाने समूहले जेल भत्काई कैदी भगाएको र देशभरि अस्तव्यस्तता सिर्जना गरेको घटना सर्वविदित रहेको उल्लेख गर्दै मुभमेन्टले राज्यविहीनता सिर्जना गरी सत्ता हासिल गर्ने उद्देश्यले योजनाबद्ध अस्थिरता फैलाइएको दाबी गरेको छ।सहकारी ठगीका लाखौँ पीडित आज पनि न्यायको प्रतीक्षामा तड्पिरहेको, कतिपयले आत्महत्या गरिसकेको र धेरैजसो मानसिक तथा शारीरिक पीडामा रहेको मुभमेन्टले स्मरण गराएको छ ।यसैबीच, मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्की तथा उनले नियुक्ति गरेका महान्यायाधिवक्तालाई सार्वजनिक रूपमा बहिष्कार र अवज्ञा गर्न आह्वान गरेको छ ।

साथै, अपराधी संरक्षणको संस्कृति तत्काल अन्त्य गर्न, महान्यायाधिवक्तालाई पदबाट हटाउन र सहकारी पीडितलाई निष्पक्ष न्याय सुनिश्चित गर्न सरकारसँग कडा माग गरेको छ।