काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका नेताहरुबाट अभिभावकको भूमिका निर्वाह हुने अपेक्षा गरेको बताएका छन् ।शनिबारको केन्द्रीय समिति बैठकअघि पत्रकारहरुसँग कुरा गर्दै थापाले देउवासहित वरिष्ठ नेता शेखर कोइराला र कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतबाट अभिभावक र संरक्षकको भूमिका निर्वाह हुने अपेक्षा गरेको बताएका हुन् । कांग्रेसका विमती अन्त्य गर्न र एक ढिक्का बनाउन उनीहरुको भूमिका हुनुपर्ने थापाको भनाइ छ ।
गत पुस २७ देखि माघ १ गतेसम्म चलेको कांग्रेस विशेष महाधिवेशनबाट सभापति चुनिएका थापालाई यही माघ २ गते निर्वाचन आयोगले आधिकारिकताको मान्यता दिएको थियो । त्यसप्रति देउवा पक्षका नेताहरुले आक्रोश व्यक्त गर्दै आएका छन् । कार्यवाहक सभापतिको जिम्मेवारीमा रहेका खड्काले त देशभर आन्दोलन गर्ने र कानुनी लडाइँ लड्ने अभिव्यक्ति दिएका थिए ।
सभापति थापाले केही दिनभित्रमै सबै नेतालाई एकै ठाउँ बसालेर पार्टीलाई अगाडि बढाउनेबारे निर्णय लिने बताए । त्यसका लागि कुराकानी थालिसकेको उनले जानकारी दिए ।दुई–तीन दिनभित्र सबै एक ठाउँमा आएर पार्टीलाई अगाडि बढाएको देख्न सक्ने उनको भनाइ छ