काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज पदबाट राजीनामा दिने तयारी छ । दिउँसो २ बजेअघि उनले राजीनामा दिने तयारी रहेको शाहको सचिवालयले जनाएको छ । त्यसपछि बालेन्द्र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी हुने बताइएको छ।बालेन्द्रले उपप्रमुख सुनिता डंगोललाई राजीनामापत्र बुझाउने छन्। त्यसपछि उनी औपचारिक रूपमा पार्टी राजनीतिमा होमिने बताइएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बन्ने उनको तयारी छ । ०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र रूपमा प्रतिस्पर्धा गरेर ठूलो मतान्तरसहित उनी काठमा८ महानगरको प्रमुखमा निर्वाचित भएका थिए। यसैबीच, आगामी फागुन २१ मा हुने प्रतिनधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। दिउँसो २ बजेका लागि बैठक बोलाइएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
बालेन्द्र यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा(५ बाट उम्मेदवार बन्ने चर्चा चुलिएको छ । रास्वपाको केन्द्रीय समिति बैठकपछि सभापति रवि लामिछाने र बालेन्द्र आजै जनकपुर जाने कार्यक्रम रहेको छ।