काठमाडौं । मधेश प्रदेश केन्द्रित चुनावी अभियानमा जुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह नेपाली कांग्रेसका सभापति गगनकुमार थापा उम्मेदवार रहेको सर्लाही क्षेत्र नम्बर ४ मा नजाने भएका छन्। मंगलबार राति गगनसँग प्रतिस्पर्धामा रहेका रास्वपा उम्मेदवार डा अमरेश कुमार सिंहले गगन सो क्षेत्रमा आउने भनेर फेसबुकमा स्टाटस हाले पनि अन्तिममा उनको सो क्षेत्रमा जाने कार्यक्रम रोकिएको हो ।
मंगलबार सप्तरीबाट मधेसका जिल्लाहरूमा चुनावी यात्रा सुरु गरेका बालेन गएराति महोत्तरीको बर्दिबासमा बास बसेका थिए। उनले हिजो सप्तरी, सिराहा, धनुषा र महोत्तरीका विभिन्न स्थानमा पुगेर रास्वपाको पक्षमा मत मागेका थिए। आज बुधबार बिहानदेखि उनी सर्लाहीतर्फ लागेका छन् । तर सर्लाहीमा क्षेत्र नं १ र ३ मा मात्रै पुग्ने तालिका रहेको रास्वपा सर्लाहीले जनाएको छ ।
सोही क्षेत्रबाट तीन पटक लगातार निर्वाचित भइसकेका सिंह यसपटक गगन थापाको उम्मेदवारीका कारण दबाबमा छन्। त्यसैले बालेनलाई आफ्नो क्षेत्रमा ल्याएर रास्वपाको पक्षमा माहोल बनाउने प्रयासमा सिंह सक्रिय देखिएका थिए। तर बालेन नआउने भएपछि उनलाई चिन्ता थपिएको छ ।
सिंहले गएराति सामाजिक सञ्जालमार्फत बालेन बुधबार सर्लाही ४ का विभिन्न स्थानमा आउने भन्दै कार्यक्रम तालिका समेत सार्वजनिक गरेका थिए । गगन थापा र अमरेश सिंहबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको सर्लाही क्षेत्र नम्बर ४ बरहथवाबाट दक्षिणतर्फ नेपाल–भारत सीमासम्म फैलिएको क्षेत्र हो। बालेनको सचिवालयले गएराति सार्वजनिक गरेको आजको कार्यक्रम तालिकामा पनि सर्लाही क्षेत्र नम्बर २ र ४ समेटिएको छैन। सचिवालयका अनुसार उनी आज लालबन्दी, हरिवन र बरहथवा मात्र जानेछन्।
