काठमाडैं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन सवारी आवागमनमा कडाइ गरिने भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सूचना जारी गर्दै मिति २०८२ फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नहुँदासम्म जिल्लाभित्र तोकिएका सवारी साधनबाहेक अन्य सवारी सञ्चालनमा रोक लगाइने भएको हो।
निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन तथा शान्ति सुरक्षालाई सुदृढ बनाउन यस्तो व्यवस्था गरिएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दूध ढुवानी गर्ने सवारी, दमकल, दूरसञ्चार सेवा, शव वाहन, अस्पताल सेवा, विद्युत् सेवा सम्बन्धी सवारी, कूटनीतिक नियोगका सवारी तथा जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त सवारी साधनलाई मात्र आवागमनको अनुमति दिइनेछ।
यस्ता सवारी साधनमार्फत मतदाता ओसार–पसार गर्न भने निषेध गरिएको छ।
ट्राफिक प्रहरीले निर्वाचन अवधिभर नियम पालना गर्न सबै सरोकारवालालाई आग्रह गर्दै उल्लङ्घन गर्ने सवारीमाथि कारबाही गरिने चेतावनीसमेत दिएको छ।