काठमाडौं। अर्थ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनालले अनिश्चयर र चुनौतिका बीच प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद दिएका छन् । मन्त्री खनालले आईतवार निर्वाचन आयोगको कार्यालय पुगेर आयोगका पदाधिकारीलाई भेटी धन्यवाद प्रकट गरेका हुन् । निर्वाचन हुनुभन्दा दुई दिन अघिसम्म पनि चुनाव हुन्छ कि हुँदैन भन्ने अनिश्चय र जोखिमपूर्ण वातावरण रहेको स्मरण गर्दे उनले जटिल अवस्थामा पनि निर्वाचन आयोग कार्यतालिका भित्रै कार्य सम्पन्न गर्नेमा कटिवद्ध रहनुले निर्वाचनको सम्पूर्ण श्रेय आयोगलाई जाने बताए । उनले जोखिमपूर्ण घडीमा आयोगले निर्वाह गरेको नेतृत्वदायी भुमिकाको उच्च प्रशंसा गरे । र्
मन्त्री खनालले जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सरकारले प्रक्रिया अघि बढाउने बताए । वर्तमान सरकारसँग कार्यान्वयनका लागि पर्याप्त समय नभए पनि जेनजीसँग भएको समझदारी बमोजिम मन्त्रिपरिषद्मा छलफल गरेर आवश्यकताअनुसार अघि बढाउने प्रधानमन्त्रीको तयारी रहेको जानकारी उनले दिए।
गृहमन्त्री ओमप्रकाश अर्याल, कानून न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले पनि आयोगको कार्यालय पुगेर धन्यवाद दिएका छन् । त्यसैगरी नेपाल प्रहरी प्रमुख दानबहादुर कार्की र शसस्त्र प्रहरी प्रमुख राजु अर्याल पनि आयोग पुगेर शाान्तिपूर्ण निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई धन्यवादन दिएका थिए ।