काठमाडौं । नेपाली काँग्रेसका नेता डा। शशांक कोईरालाले वर्तमान सरकारले कुनै ठोस र जनपक्षीय काम गर्न नसकेको टिप्पणी गरेका छन् ।
शनिवार काठमाडौंमा नेपाली काँग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोईरालाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । बहुमतको समर्थन प्राप्त भएपनि सरकारले हालसम्म कुनै नयाँ नीति तथा कार्यक्रम ल्याउन नसकेको बताउँदै उनले यसलाई ‘कामचलाउ’ सरकारको संज्ञा दिए। वर्तमान सत्ता समीकरण पाँच वर्षको पूर्ण कार्यकाल टिक्नेमा आशंका व्यक्त गर्दै कोईरालाले मुलुक मध्यावधि निर्वाचनतर्फ जानसक्ने सम्भावना रहेको समेत उल्लेख गरे ।
नेता कोईरालाले भने, ‘यो सरकार साधारण प्रकृतिको मात्र देखिएको छ । बहुमत भए पनि ठोस रूपमा कुनै राम्रो काम भएको मलाई लाग्दैन । नयाँ नीतिहरू केही छैनन्, यसलाई एक प्रकारको कामचलाउ सरकार नै भन्न सकिन्छ । यो सरकार पाँच वर्ष नै टिक्छ भन्ने सुनिश्चितता छैन, बीचैमा मध्यावधि निर्वाचनमा जानुपर्ने सम्भावना पनि रहन्छ । राजनीतिमा यस्तो सम्भावनालाई नकार्न सकिँदैन ।’
उनले राजनीति सम्भावनाको खेल भएको उल्लेख गरे ।