३० आश्विन २०८३, शुक्रबार

बालेनप्रति ओलीको कटाक्ष– मादल बजाउन नजान्नेलाई मादल दिँदा राम्रो संगीत निस्कँदैन

0
Shares


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण देश बर्बादीतर्फ उन्मुख रहेको बताएका छन् ।

इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले अदूरदर्शी र अनुभव नभएका शक्तिहरूका कारण मुलुक संकटतर्फ धकेलिएको दाबी गरेका हुन् । अध्यक्ष ओलीले प्रधानमन्त्री बालेन्द्र साहप्रति लक्षित गर्दै सरकार सञ्चालनलाई कला र अनुभवसँग तुलना गरे । नयाँ भनिएका राजनीतिक शक्तिहरूमा शासन गर्ने न्युनतम दक्षता समेत नभएको टिप्पणी गरे । अनुभवहीन सरकारले जे गर्न सक्थ्यो, त्यही मात्र गरिरहेको ओलीको भनाइ छ । खाना पकाउन नजान्ने बच्चालाई भान्साको जिम्मेवारी दिएजस्तै, नयाँ भनिएकाहरूले प्रक्रिया पनि नबुझेको र नतिजा दिन पनि नसक्ने जिकिर गरे । सिक्दै नसकेका र प्रक्रिया नबुझेका व्यक्तिहरूले देश चलाउन खोज्दा उल्टै क्षति पुगिरहेको उनको भनाइ छ । ओलीले सीप नभएको मानिसलाई बाजा बजाउन वा नृत्य गर्न लगाउँदा आउने परिणामजस्तै वर्तमान सरकारको अवस्था रहेको उल्लेख गरे ।

अध्यक्ष ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’ बाट बनेको सरकारको संज्ञा दिए । सरकार गठनको प्रसङ्गलाई एक बालकले क्यारम बोर्ड खेल्दा संयोगवश गोटी छिरेको घटनासँग तुलना गर्दै उनले मुलुकमा असहज परिस्थिति सिर्जना गरेर वर्तमान सरकार अस्तित्वमा आएको दाबी गरे । अध्यक्ष ओलीले वर्तमान सरकार गठन भएदेखि नै प्रतिशोधको राजनीतिमा उत्रिएको आरोप लगाए । आफू लगायत नेपाली काँग्रेसका नेता रमेश लेखक र अन्य नेताहरूलाई विभिन्न समयमा पक्राउ गर्ने तथा झुटा मुद्दा लगाउने कोशिस भइरहेको उनको भनाइ छ । सरकारले लोकतान्त्रिक मूल्यमान्यता विपरित विभिन्न क्षेत्रमाथि अंकुश लगाउन खोजेको उनको टिप्पणी छ ।