१ कार्तिक २०८३, शनिबार

वामपन्थी शक्तिहरु मुलुकको पूर्वाधार विकासमा मात्र केन्द्रित हुँदा वर्ग र समुदायबाट टाढिँदै गएः महासचिव पोखरेल

0
Shares


काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी आधारभुत वर्ग र समुदायबाट टाढिँदै गएको बताएका छन् ।

आईतवार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै उनले यस्तो बताउनुभएको हो । उनले गत प्रतिनिधि सभाको निर्वाचनमा एमालेलेल पार्टी सदस्य र उनीहरूको निकट समुदायमा आधारित जनमतबाहेक वर्ग र समुदायको जनमत पाउन नसकेको बताए । नेपालको श्रमशक्तिको ठूलो हिस्सा कृषिमा निर्भर रहेपनि कृषिमा संलग्न परिवारका शिक्षित युवा कृषि पेसामा फर्कन नचाहँदा शैक्षिक बेरोजगारी बढेको उनको भनाइ छ ।

नेपाली कम्युनिष्ट पार्टीका नेता शक्तिबहादुर बस्नेतले नेपालको कम्युनिष्ट आन्दोलनको गम्भीर समीक्षा गर्न जरुरी रहेको बताए ।उनले परिवर्तनको खोजिमा हिँडेको जनअभिमत कम्युनिष्ट दलहरुभन्दा धेरै पर पुग्ने स्थिति निर्माण हुनुको कारण नखोजिकन मुलुकको कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्ने बताए ।उनले नवउदारवादको बढ्दो प्रभावले सामाजिक तथा आर्थिक असमानता र विभेद घटाउन नसकेको दाबी पनि गरे ।

नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले नेपाली काँग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरवलोकनका लागि निस्सा दिनु अस्वभाविक भएको टिप्पणी गरे । उनले अब सर्वोयच्च अदालतले विशेष महाधिवेशनमार्फ निर्वाचित गगनकुमार थापा नेतृत्वको काँग्रेसलाई दिइएको वैधानिकता उल्टिन सक्ने आशंका समेत व्यक्त गरे । उक्त मुद्दामा सर्वोच्च अदालतको आदेशपछि मुलुकको राजनीतिक परिस्थिति थप जटिल बन्न सक्ने बताउँदै त्यसबाट संविधान र लोकतन्त्रमाथि नै संकट आउन सक्ने चेतावनी दिए ।

सरकार र सत्तारुढ दलले आफ्ना कमजोरी ढाक्न ठूलो गतिविधि गर्न सक्ने वा पुरानै नेतृत्वलाई निरन्तरता दिने प्रयास गर्न खोजेको उनको आरोप छ । उनले सत्तारुढ दल रास्वपाले पुराना राजनीतिक शक्तिहरुमा पुराना नेता रहिरहुन् भन्ने चाहेको आरोप पनि लगाए ।