१ कार्तिक २०८३, शनिबार

केही शक्तिहरु देशलाई पुनः अन्धकार युगतिर फर्काउने प्रयासमा जुटिरहेको अध्यक्ष ओलीको आरोप, केन्द्रिय कमिटीको बैठकपछि एमाले झनै बलियो बन्ने दाबी

0
Shares


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले संविधान संशोधनको पक्षमा रहेको बताएका छन् ।

शनिवार संविधान दिवसको अवसर पारेर पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । नेपालको संविधान जनताले प्राप्त गर्ने अधिकारको सन्दर्भमा मौलिक हकको सन्दर्भमा उत्कृष्ट संविधान रहेको बताउदै उनले भएका कमी कमजोरी हटाइ अझ अग्रगामी बनाउने दिशामा संविधान संशोधन गर्न एमाले तयार रहेको जानकारी दिए । राष्ट्रिय सभा वर्तमान संविधानको पक्षमा रहे पनि प्रतिनिधि सभा विपक्षमा रहेको संकेत उनको छ ।

अध्यक्ष ओलीले गत वर्षको भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा सरकारबाट दमन नगर्नु भन्दाभन्दै गोली घुसपैठ गरेर गोली चलाइएको बताए । २३ गते अनावश्यक ढंगले नवयुवाहरुको र अरु युवाहरुको हत्याको काण्ड गराउने काम योजनावद्ध रहेको उनको भनाइ छ । त्यसलाई निहुँ बनाएर भोलिपल्ट राष्ट्रव्यापी रुपमा लुटपाट, हिंसा, आतंक, अराजकता फिजाइएको बताउदै उनले काँक्रा आफूले खाएर बियाँ आफूहरुको मुखमा लगाइदिने षड्यन्त्र गरेको आरोप लगाए । आन्दोलनमा आफूहरुले गोली नचलाउन र दमन नगर्न भनेको भएपनि कसरी गोली चल्यो भन्नेकुरा षड्यन्त्रपूर्ण रहेको बताउदै उनले गत भदौमा कसको संलग्नता थियो भन्नेकुरा बिस्तारै खुल्दै गएको बताए ।

अध्यक्ष ओलीले केन्द्रिय कमिटीको बैठकपछि नकपा एमाले झनै सुदृढ एकताका साथ अघि बढ्ने दाबी गरे।विरोधीहरुले खुट्टा ताने पनि एमाले आफ्नो काममा दृढताका साथ लाग्ने उनको भनाइ छ ।यस्तै महासचिव शंकर पोखरेलले राजनीतिक दलहरुसँगको संवाद प्रधानमन्त्री बालेन्द्र साहका लागि एकादेशको कथा बनेको टिप्पणी गरे । सरकार चुनौतीलाई सामना गर्नका लागि राजनीतिक दलहरुसँग मिलेर काम गर्नुपर्ने बेलामा मुलुकलाई स्वेच्छाचारी बाटोतर्फ लैजानका लागि उद्यत रहेको उनको आरोप छ ।

महासचिव पोखरेलले संसदीय लोकतन्त्रमा प्रधानमन्त्री संसदीय दलको बैठकमा नबस्ने र संसदबाट चुनिएको प्रधानमन्त्री संसदप्रति जवाफदेही नबन्ने कुरा पहिलो पटक भएको जिकिर गरे ।सरकार संविधानलाई छेडखानी गर्ने काममा लागेको उनको आरोप छ ।