काठमाडौं । लगातारको अविरल वर्षासँगै आएको बाढी, पहिरोका कारण देशभर १२ जनाले ज्यान गुमाएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार पछिल्लो २४ घण्टामा मात्रै ६ जनाको मृत्यु भएको हो । असोज ८ गतेदेखि हालसम्म बाढी, पहिरो र अविरल वर्षाका कारण मृत्यु हुनेको संख्या १२ पुगेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जाकारी दिइन् । उनकाअनुसार ७ जना सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीनहरुको खोजी कार्य जारी रहेको उनको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाले वर्षा तथा सम्भावित जोखिमबारे पूर्वानुमान गरेपछि प्राधिकरणले सोही आधारमा तयारी गरेको उनको भनाई छ । हालसम्म ९ हजारभन्दा बढी पर्यटकलाई सुरक्षित स्थानमा झारिएको उनले बताइन् ।
महतले सम्भावित जोखिमलाई ध्यानमा राख्दै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, स्थानीय तहका प्रमुख तथा विपद् प्रतिकार्यमा खटिने अन्य निकायसँग निरन्तर सूचना आदान–प्रदान भइरहेको बताइन् । कालीगण्डकी र नारायणी नदी बेसिनमा कतिपय स्थानमा अति भारी वर्षा भएपछि नदीको बहाव बढेको र कटानसमेत भएको उनको भनाइ छ । प्राधिकरणका अनुसार नवलपुर, चितवन, पाल्पा, पर्वतलगायत जिल्लामा बाढी, कटान र पहिरोको जोखिम देखिएको छ । पर्वतमा केही घर बाढीले बगाएको छ । तर स्थानीय प्रशासनले जोखिमयुक्त बस्तीका बासिन्दालाई समयमै सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति हुन नपाएको प्राधिकरणकी प्रवक्ता महतले बताइन् । उनकाअनुसार नवलपरासी क्षेत्रमा पनि १ हजार १ सयभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
