काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिएर स्वदेश फर्किनुभएका परराष्ट्रमन्त्री शिशिर खनालले नेपालले उठाएको ‘जलवायु न्याय’को एजेण्डाले विश्व मञ्चमा गम्भीर ध्यानाकर्षण गराउन सफल भएको दाबी गरेका छन् । बुधवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री बालेन्द्र साहको सम्बोधन र आफूले विभिन्न मञ्चमा राखेका धारणाले नेपालको कुटनीतिक छवि उच्च बनाएको दाबी गरेका हुन् । परराष्ट्रमन्त्री खनालले महासभाको दौरान जलवायु परिवर्तनले नेपालजस्ता पर्वतीय मुलुकमा पारेको असरलाई ‘हिमालयन सुनामी’को रूपमा चित्रण गर्दै विश्व समुदायको ध्यानाकर्षण गराएको जानकारी दिए । विशेषगरी भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि उनले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्तामा आर्थिक र प्राविधिक सहयोगका लागि माग गरेको बताए । उनकाअनुसार नेपालले अब केवल आपत्कालीन राहतमा मात्र सिमित नभई क्षति न्युनिकरणका लागि ‘जलवायु वित्त’ र ‘क्षतिपूर्ति कोष’ को प्रभावकारी परिचालनमा जोड दिएको छ । यस भ्रमणका क्रममा नेपालले तीन नयाँ देश–ग्रेनाडा, नामिबिया र सेनेगलसँग कुटनीतिक सम्बन्ध स्थापना गरेको छ । जससँगै नेपालको कुटनीतिक सम्बन्ध भएका मुलुकहरूको संख्या १८८ पुगेको छ । साथै, विभिन्न देशसँग कुटनीतिक तथा सेवा राहदानी वाहकका लागि भिसा छुट गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री साहको सम्बोधनको चर्चा गर्दै मन्त्री खनालले उक्त सम्बोधन यस वर्षको महासभाको सबैभन्दा बढी हेरिएको र चासो लिइएको भाषणमध्ये एक बनेको बताए । उनले संयुक्त राज्य अमेरिका र संयुक्त अरब इमिरेट्स (युएई) ले बाढीपीडितका लागि घोषणा गरेको आर्थिक सहयोगप्रति आभार व्यक्त गर्दै अन्य अन्तर्राष्ट्रिय समुदाय पनि पुनर्निर्माणमा सकारात्मक रहेको बताए ।
यस्तै परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा प्रधानमन्त्रीले गरेको सम्बोधनले विश्व मञ्चमा नेपालको प्रभाव र गरिमालाई थप उचो बनाएको बताए । प्रधानमन्त्रीको सम्बोधनले अन्तर्राष्ट्रिय वृत्तमा व्यापक चासो र सकारात्मक चर्चा पाएको दाबी गर्दै उनले प्रधानमन्त्रीको सम्बोधन यो वर्षको संयुक्त राष्ट्रसंघीय महासभामा सबैभन्दा बढी हेरिएको र चासो लिइएको भिडियोमध्ये एक बनेको जानकारी दिए । राजनीतिक परिवर्तनपछिको नयाँ परिस्थितिमा युवा प्रधानमन्त्रीले नेपालको प्रतिनिधित्व कसरी गर्छन् भन्ने चासो नेपाल र अन्तर्राष्ट्रिय समुदाय दुवैमा रहेकाले यसपटकको सहभागिता विशेष रहेको उनले उल्लेख गरे । नेपालको कुटनीतिक सक्रियताका लागि यो महासभा एक महत्वपूर्ण अवसर बनेको मन्त्री खनालको भनाइ छ । प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको मुद्दालाई स्पष्ट र सशक्त रूपमा राख्न सफल भएको र यसले देशको कूटनीतिक छविलाई थप बलियो बनाएको सरकारको ठहर छ ।
परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणका लागि दुवै मुलुक ‘परिणाममुखी’ र अर्थपूर्ण भ्रमणको प्रतिक्षामा रहेको बताए। भ्रमणको समय तय नभए पनि दुवै पक्ष सकारात्मक रूपमा छलफलमा रहेको उनको भनाइ छ । उनले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभा नेपालको हित प्रवद्र्धनका लागि निकै फलदायी रहेको दाबी गरे । उहाँले महासभाका क्रममा विश्वभरका राष्ट्र तथा सरकार प्रमुखहरूसँग भएको भेटघाटलाई नेपालको राष्ट्रिय स्वार्थ र बाढीपछिको विपद् व्यवस्थापनका मुद्दाहरू विश्व मञ्चमा राख्न सदुपयोग गरेको बताए । नेपालको राष्ट्रिय हितका लागि प्राप्त अवसरहरूको उच्चतम प्रयोग गरिएको स्पष्ट पारे ।
सरकारले छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको भन्दै परराष्ट्रमन्त्री खनालल भ्रमणले सम्बन्धलाई अझ सुदृढ र नतिजामूलक बनाउने विश्वास व्यक्त गरे ।
