काठमाडौं। राष्ट्रिय सभाको शुक्रवार बसेको बैठकले बिभिन्न विधेयक पारित गरेको छ ।
बैठकले ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ लाई सर्वसम्मत रूपमा पारित गरेको हो । हवाई सेवालाई थप सुरक्षित, भरपर्दो र जिम्मेवार बनाउने उद्देश्यले ल्याइएको ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ ले यात्रुको अधिकार संरक्षणका साथै दुर्घटना वा अन्य प्राविधिक समस्यामा यात्रुले पाउने क्षतिपूर्तिको कानूनी आधार तयार पारेको हो । शुक्रवारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले विधेयक पारित गरियोस् भनी प्रश्ताव पेश गरेका थिए । सदनमा उपस्थित सदस्यहरूले उक्त प्रश्तावलाई सर्वसम्मत रूपमा समर्थन गरेका हुन् ।
नयाँ ऐनको प्रश्तावनामा उल्लेख गरिएअनुसार, हवाई दुर्घटनामा हुने मृत्यु, अङ्गभङ्ग, चोटपटक, उडानमा हुने विलम्ब वा यात्रा स्थगन हुँदा यात्रु वा तेस्रो पक्षले प्राप्त गर्ने क्षतिपूर्तिको व्यवस्थालाई स्पष्ट र व्यवस्थित बनाउने लक्ष्य लिइएको छ । विधेयक, माथि भएको छलफलमा सांसदहरूबाट आएका सुझावलाई समेट्दै सरकारले विधेयकमा १३ वटा बुँदामा संशोधन गरेको छ । सुरक्षित र भरपर्दो हवाई सेवा सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताउँदै, मन्त्री पौडेलले विधेयक कार्यान्वयनका लागि शुक्रबार बाटै तयारी सुरु गर्ने जानकारी गराएका छन् ।
यस्तै बैठकले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधि सभाबाट विभिन्न संशोधनहरूसहित फिर्ता आएको सो विधेयकलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सदनमा प्रश्तुत गरेका थिए । लामो समयदेखि प्रक्रियामा रहेको यस विधेयकलाई अगाडि बढाउने सन्दर्भमा दुवै सदनबीच एकरूपता कायम भएको छ । यस विधेयकको पारितसँगै नेपालमा विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालनका लागि आवश्यक कानूनी आधार तयार भएको छ । यसले अपराध अनुसन्धानमा वैज्ञानिक प्रमाणको पहुँचलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ को आवश्यकता र महत्वबारे प्रस्ट पार्दै प्रयोगशालालाई अत्याधुनिक बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
