मन्त्रिपरिषद् विस्तारको तयारी
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रतिनिधिहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । आगामी सोमबारसम्म शपथ गर्नेगरी चार जना नयाँ मन्त्री नियुक्त हुन लागेको जनाइएको छ ।
जेनजीहरूको प्रतिनिधित्व गरेर नयाँ मन्त्री हुनेहरूमा गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोम रहेको बताइएको छ । श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, गुप्ता युवा तथा खेलकुद मन्त्रालय, रामलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो ।
श्रेष्ठले हनुमानढोका दरबार, नारायणहिटी दरबार र रानीपोखरी सहितका सम्पदा संरक्षणमा भूमिका निर्वाह गरेका छन् । २०७२ को भूकम्पपछिको पुनर्निर्माणका क्रममा रानीपोखरी र पशुपति क्षेक्रमा कंक्रिट हाल्ने प्रयास, बालगोपालेश्वर मन्दिरमा सिमेन्ट र रडको प्रयोगदेखि खुलामञ्चको व्यापारीकरणविरुद्ध उनले बोल्दै आएका छन्।
त्यस्तै, युवा मन्त्रीमा सिफारिस गुप्ताले कोभिडकालमा निःशुल्क खाना अभियान चलाएका थिए कपडा बैंक स्थापना गरेका थिए । अहिले ‘हन्ड्रेड ग्रुप’ मार्फत ११० जना विद्यार्थी पढाइरहेका उहाँले बिरामीका लागि रगत खोज्ने सारथि समेत हुन् ।
यस्तै रामजी रौतहट जिल्लाकै चमार समुदायबाट पहिलो डाक्टर बनेका व्यक्ति हुन् । बिभिन्न हैरानी र सास्ती खेप्दै डाक्टर बनेका रामलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।
यस्तै हुम्लाको लिमि भ्यालीस्थित नाम्खा गाउँपालिकामा जन्मिएकी टासी जलवायु परिवर्तनको मुद्दामा पैरवी गर्ने गरेकी छन् । त्यस्तै, जेनजी आन्दोलनमा भाग लिएका अन्य युवाहरूलाई प्रधानमन्त्रीको सचिवालयमा राख्नेगरी तयारी भएको जनाइएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE