देश संवैधानिक मार्ग भन्दा बाहिर छः महेश बर्तौला
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले देश अहिले संवैधानिक मार्ग भन्दा बाहिर रहेको टिप्पणी गरेका छन् । अन्तरिम सरकार गठन नै असंवैधानिक रुपमा भएको र संसद विघटन पनि असंवैधानिक रहेको ठहर नेकपा एमालेको रहेको बताएका हुन् ।
बुधवार सिंहदरबारमा सभामुखसँगको छलफपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसद विघटन असंवैधानिक, अराजनीतिक, अलोकतान्त्रिक भएको बताए । जेन जीका राम्रा विषयहरु समेटेर जाने माध्यम भनेकै संसद रहेकाले संसद पुनःस्थापना जरुरी रहेको उनको भनाइ छ ।
सरकार र सरकारका गृहमन्त्री निर्वाचन गराउने भन्दा निर्वाचन हुनै नदिने काममा लागेको आरोप लगाए। राजनीतिक दलहरुले आफ्ना एजेण्डा लिएर जनताका बीचमा जान पाउँछन् भन्ने सुनिश्चितता सरकारले दिन नसकेको उनको भनँइ छ।
उनले भने, ‘आजको बैठकमा सबै दलहरुले संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक भएको भन्नुभएको छ । संसदलाई कायम राखेरै सबै प्रकारका समस्याको समाधान गर्न सकिने अवस्था हुँदाहुँदै त्यो अवस्था ठूला षड्यन्त्रको कारणले गर्दा असफल भयो भन्नेकुरा हामी सबै दलहरुको साझा मत भयो । संसद विघटन असंवैधानिक, अराजनीतिक, अलोकतान्त्रिक हो । यसको संवैधानिक परीक्षण सम्बन्धित सर्वोच्च अदालतले गर्नेछ । जेन जीका राम्रा विषयहरु पनि छन् । त्यो पुस्ताले उठाएका विषयलाई संसदमार्फत संविधान संशोधन गरेर भोलिका दिनमा निर्वाचनमार्फत ताजा जनादेश ल्याएर अघि बढ्ने कुरा सहज हुन्छ भन्नेकुरा आयो । संसद पुनःस्थापना गरिनु आवश्यक छ । देश अहिले संवैधानिक मार्ग भन्दा बाहिर छ । संवैधानिक लिकमा ल्याउन निर्वाचन र संस्द पुनःस्थापना नै हो । निर्वाचनको तर्फबाट हेर्दा कुनैपनि कार्य छैन । गृहमन्त्री आज आफैँ दलका नेताहरुलाई धम्क्याउँदै हिँड्नुभएको छ । गृह प्रशासन त्यही ढंगबाट चलाउँदै हुनुहुन्छ । राजनीतिक दलहरुले आफ्ना एजेण्डा लिएर जनताका बीचमा जान पाउँछन् भन्ने सुनिश्चितता सरकारले दिन सकेको छैन ।’
उनले राजनीतिक दलहरुसँग संवादहिनतामा सरकार रहेको बताउनु भयो । लुटिएका हतियार खोजि गर्ने कुरामा गृहमन्त्रीले चासो नदेखाउनुभएको बताए। भयरहित स्थिति बन्ने अवथा नरहेको बताउदै उनले फागुन २१ गते निर्वाचन नगराउने गरी सरकार लागि परेको जिकिर गरे ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE