घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल अब सह्य हुँदैनः प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल अब सह्य नहुने चेतावनी दिएकी छन्।
शनिवार काठमाडौंमा महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २।० लाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो चेतावनी दिएकी हुन् । उनले लोकतन्त्रको नाममा अब लुटतन्त्र सह्य नहुने बताइन्। इमान्दार उद्यमीलाई प्रताडित गर्ने र नीतिगत चलखेल गर्नेहरु पोसिने अवस्था नरहने पनि स्पष्ट पारिन्।
उनले जेन जी आन्दोलनको पृष्ठभूमिमा केही उश्रृंखल समूहहरुले राज्यविहिनताको फाइदा उठाउँदै व्यापारिक क्षेत्रमाथि गरिएको आक्रमण स्वीकार्य नभएको बताइन् । उक्त घटनापछि मर्माहत भएको निजी क्षेत्रलाई जेन जी आन्दोलनमा घाइते युवाहरूलाईझैँ तत्काल राहत, सहयोग पु¥याउँदै आत्मविश्वासको जगेर्ना गर्न सरकार कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरिन्।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘भर्खरैको भदौको जेन जी आन्दोलनले देशलाई के सह्य छ र के असह्य छ भन्ने एउटा खुला लक्ष्मण रेखा स्थापित गरेको छ । घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल सह्य छैन । लोकतन्त्रको नाममा लुटतन्त्र हामीलाई स्वीकार्य छैन । इमानदार उद्यमीलाई प्रताडित गर्ने र नीतिगत चलखेल गर्नेहरू पोसिने अवस्था रहनुहुँदैन । यो आन्दोलनको पृष्ठभूमिमा केही उच्छृङ्खल समूहहरूले राज्यविहीनताको फाइदा उठाउँदै उद्योग व्यापारिक क्षेत्रमा गरेको क्षति हामीलाई अस्वीकार्य छ । उक्त घटनापछि मर्माहत भएको निजी क्षेत्रलाई जेन जी आन्दोलनमा घाइते युवाहरूलाई झैँ तत्काल राहत, सहयोग पुर्याउँदै आत्मविश्वासको जगेर्ना गर्न सरकार कुनै कसर बाँकी राख्ने छैन भन्ने म पुनः विश्वास दिलाउन चाहन्छु ।
प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको आन्दोलनले नेपाललाई एक नवीन म्याण्डेट दिएको बताउँदै नेपाल अब एक पछौटे मुलुकको यथास्थितिमा बस्न नसक्ने स्पष्ट पारिन् । अब आम युवा, आम नेपालीले अग्रगामी दिशामा देशलाई लिएर जानु बाहेकको विकल्प नभएको उनको भनाइ छ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE