काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छिन् । इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको एक प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भएको भेटमा यो सरकार चुनाव गराउनैका लागि आएकाले अब कुनै दुविधा नराखी चुनावको तयारी गर्न पनि आग्रह गरेको उनको नीजि सचिवालयले जनाएको छ।
प्रधानमन्त्री कार्कीले नेम्वाङसँग चुनावमा उठ्ने तयारी के छ भनेर पनि जिज्ञासा राखेकी थिइन् । प्रतिक्रियामा नेम्वाङले चुनावको तयारी गरिरहेको बताएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले नेम्वाङलाई शुभकामना दिँदै अब युवा नै अघि सर्नुपर्ने धारणा राखेको बताइएको छ।
नेम्वाङले इलाममा बाढीपहिरोका कारण क्षतिग्रस्ता राजमार्ग र पुल पुन निर्माणमा तदारुकता देखाउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराएका छन्।
प्रधानमन्त्री कार्कीले हालै भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले स्थलगत अवलोकन निरीक्षण गरी फर्किएको र यस विषयमा सरकार गम्भीर रहेको जानकारी दिएको जनाइएको छ।