सुशासन र पारदर्शीताको मामिलामा कतै कम्परमाइज गरेकाे छैन : कुलमान
काठमाडाैं । उर्जा, भौतिक, शहरी विकासमन्त्री कुलमान घिसिङले सुशासन र पारदर्शीताको मामिलामा कतै कम्परमाइज नगरेको बताउनुभएको छ । एक सय दिने उपलब्धि सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले सुशासन र पारदर्शीतालाई कठोरतापूर्व लागू गरिएको बताउनु भयो । उहाँले सम्पती विवरण सबै मन्त्रीले समयमै बुझाइसकेको समेत बताउनुभएको छ । घिसिङकाअनुसार सबै मन्त्रीले साढे दुई महीनामै विवरण बुझाएकाले अब सार्वजनिक गर्ने जिम्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हो ।
मन्त्री घिसिङले आफू राजनीतिबाट अब ब्याक नहुने पनि स्पष्ट पार्नुभएको छ । उहाँकाअनुसार आगामी चुनावमा नयाँ शक्ति एक भएर जानेमा सबै एकमत रहेकाले सहकार्य हुँदैछ । मन्त्री घिसिङले परिवर्तनलाई संस्था गर्न र आगामी चुनावबाट नयाँ सक्षम नेतृत्व ल्याउन सबै नयाँ शक्तिलाई मिलाएर लगिने बताउनु भयो ।
मन्त्री घिसिङले १०० दिने उपलब्धिभित्र बञ्चरेडाँडामा फोहोर विसर्जन रोकिँदा राजधानी अस्तव्यस्त हुने समस्या समाधान गर्ने, मेलम्चीको पानी काठमाडौं ल्याउन भएको अवरोध हटाएको तातोपानी–कोदारी सडक खुलाएर उत्तरी छिमेकी चीनसँगको नाका पुनः सञ्चालन गरिएको र मनसुनले क्षति पु¥याएको वीपी राजमार्गलाई समयमै अस्थायी रूपमा सञ्चालनमा ल्याई जनजीवन सहज बनाएको लगायत कामहरु समावेश गर्नुभएको छ ।
घिसिङकाअनुसार १०० दिनमा गरिएका कार्यहरुमा बुढीगण्डकी जलविद्युत आयोजनाको मोडालिटी तय गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको उल्लेख गरिएको छ । त्यस्तै अपर अरुण जलविद्युत आयोजनाको समेत वित्तीय ढाँचा तयार भएको, भारत र बंगलादेशमा १९ अर्ब रुपैयाँ बराबर विद्युत निर्यात भएको उपलब्धि सूचीमा समावेश गरिएको छ । भौतिकतर्फ कोटेश्वर चोक सुधारमा जापान सरकारसँग ३४ अर्ब ४९ करोड येन बराबर ऋण सम्झौता राखिएको छ । त्यस्तै ४० रुग्ण ठेक्का तोडिएका छन् । अन्य तोड्ने प्रक्रियामा रहेका छन् । वीपी राजमार्गको पुनर्निर्माणको कामलाई पनि उपलब्धिको सूचिमा मन्त्री घिसिङले राख्नुभएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE