प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्था परिमार्जन गर्न गम्भीर परामर्श भइरहेको छ – प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने बताएकी छन् । उनले प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्था परिमार्जन गर्ने विषयमा गम्भीर परामर्श र गृहकार्य भइरहेको बताइन् ।त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहलाईमा कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले विश्वविद्यालयलाई दलीय राजनीतिबाट मूक्त गर्न आवश्यक रहेको बताइन् ।‘शैक्षिक प्रशासनमा दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको बुझेर नै प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता बोध भएको हो । यस विषयमा गम्भीर परामर्श र गृहकार्य भइरहेको छ ।’
प्रधानमन्त्री कार्कीले ठूलो संरचना र आकारले मात्र गुणस्तरीय र अन्तरराष्ट्रियस्तरको शिक्षा सुनिश्चित नगर्ने बताइन् । प्राध्यापक–विद्यार्थीको सही अनुपात कायम गर्दै गुणस्तरीय शिक्षा र उच्च गुणस्तरका अनुसन्धान सामग्री प्रकाशन गर्ने कार्यमा प्राध्यापक, विद्यार्थी तथा व्यवस्थापन सबै पक्ष थप क्रियाशील हुन आवश्यक रहेको उनले बताइन् ।नेपाली विद्यार्थीहरूको ठूलो हिस्सा उच्च शिक्षाका लागि विदेश गइरहेको अवस्थामा शैक्षिक गुणस्तरमा उत्कृष्टता कायम राख्दै समयानुकूल नयाँ र व्यावहारिक शैक्षिक कार्यक्रम थप गर्ने विषयमा पनि सरोकार भएकाहरूले पर्याप्त ध्यान दिनुपर्ने प्रधानमन्त्री कार्कीको भनाइ छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE