काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले साम्राज्यवाद, नवउदारवाद र पुँजीवादी शोषणका कारण सामाजिक असमानता गहिरिँदै गएको उल्लेख गरेका छन् । माओत्सेतुङको १३३ औँ जन्मजयन्तिको अवसरमा शुभकामना दिँदै उनले आज विश्व साम्राज्यवाद, नवउदारवाद र पुँजीवादी शोषणका कारण सामाजिक असमानता गहिरिँदै गएका बताएका हुन् ।
प्रचण्डले राष्ट्रिय सार्वभौमिकतामाथि हस्तक्षेप बढिरहेको र जनताको जीवन दिनानुदिन संकटग्रस्त बन्दै गएको बताएका छन् । यही परिस्थितिमा अध्यक्ष माओका विचार, उनले गरेको सङ्घर्ष, सामाजिक अन्तर्विरोध समाधान गर्ने वैज्ञानिक दृष्टिकोण र जनताको स्वामित्वमा आधारित लोकतन्त्रको अवधारणा आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।
माओले देखाएका बाटो केवल इतिहासको विषय नभई राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने, उत्पीडित वर्गलाई मुक्त गर्ने, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने तथा जनताको वास्तविक लोकतन्त्र स्थापना गर्ने आजको व्यावहारिक मार्गदर्शन समेत भएको बताए । सामन्तवाद अन्त्यको वैचारिक र व्यवहारिक सङ्घर्षको एक चरण पूरा भएको पनि उनले उल्लेख गरेका छन् ।