महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीको विधानअनुसार यही पुस मसान्तभित्र विशेष महाधिवेशन हुने दाबी गरेका छन् । पार्टी केन्द्रिय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
केन्द्रिय कार्यसमितिले निर्णय गरेर हुने कि विधानअनुसार पार्टी केन्द्रको आह्वानमा हुन्छ भन्ने कुरा दुई–तीन दिनभित्रै टुंगोमा लाग्ने उनको भनाइ छ । पुसभित्र नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विशेष महाधिवेशन बोलाउन बाध्यकारी भएकाले शुक्रवारको केन्द्रीय कार्यसमिति बैठकमा आफूले फरक मत राखेको उनको भनाइ छ ।
उनले भने, ‘अझै केही दिन प्रतिक्षा गर्छौं, पार्टी सभापति, कार्यवाहक सभापतिज्यूहरुले पार्टी विधानको उल्लङ्घन गर्न पाइदैन भन्ने कुरा उहाँहरु बुझ्नुभएको छ । एकदुई दिनभित्र आएर केन्द्रीय कार्यसम्पादन समितिको बैठक राख्नुभयो र विषेश महाधिवेशन बोलाउनुभयो भने पार्टीका लागि सर्वोत्तम कुरा त्यही नै हुन्छ । हामी पनि त्यही चाहान्छौँ । हामी अनुरोध गर्छौं । यदि पार्टीको जिम्मेवार नेताले विधानको पालना गर्नुभएन भने मैले पार्टी महामन्त्री भएर यो कुरा टुलुटुलु हेरेर बस्न मिल्दैन । बस्न सक्दिनँ । विधानको धारा १७९२०को पालना मैले गर्छु । विषेश महाधिवेशनको आयोजना गर्छौं । यो पुसभित्रमा काठमाडौंमा नेपाली काँग्रेसको विषेश महाधिवेशनको आयोजना हुन्छ । कसले गर्छ भन्ने कुरा एकदुई दिनभित्रमा प्रष्ट हुन्छ । देशभरीका महाधिवेशन प्रतिनिधि साथिहरुलाई अनुरोध गर्न चाहान्छु, तपाई पुस मसान्तमा काठमाडौंमा आउने कुराको लागि औपचारिक निम्तो केही दिनमा आउँछ । काठमाडौंमा भेट हुन्छ ।’
महामन्त्री थापाले पुस मसान्तभित्र हुने विषेश महाधिवेशनले पार्टीको अगामी नेतृत्व, नीति र कार्यदिशा तय गर्ने समेत जिकिर गरे । उनले यसअघि नै सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE