प्रधानमन्त्रीको निर्देशन- राजनीतिमा लाग्नेले तत्काल मन्त्री छोड्नुहोस्
काठमाडौं।प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिकमा लाग्न खोज्ने मन्त्रीहरूलाई बाटो क्लियर गर्न निर्देशन दिएकी छन् ।निर्वाचन नजिकिँदै जाँदा केही मन्त्रीहरू राजनीतिक क्रियाकलापमा लागेको र उनीहरू दलमा नै आबद्ध भएकाले प्रधानमन्त्री कार्कीले पछिल्लो मन्त्रिपरिषद बैठकमा अब तत्काल पद छोड्न भनेको जनाइएको छ ।जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम चुनावी सरकारमा कुलमान घिसिङले प्रभावशाली मानिने ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय सम्हालिरहेका छन् ।
सरकारमा सहभागी भएपछि घिसिङको संरक्षकत्वमा उज्यालो नेपाल पार्टी गठन गरिएको थियो । अध्यक्ष अनुपकुमार उपाध्याय रहेको उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गरेको छ । दलका बैठक र राजनीतिक कार्यक्रममा भने घिसिङ प्रत्यक्ष सहभागी हुँदै आएका छन् । निर्दलीय भनिएको चुनावी सरकारका मन्त्री नै राजनीतिक गतिविधिमा सक्रिय हुन थालेको भन्दै आलोचना हुँदै आएको छ । कतिपयले त आगामी निर्वाचनको निष्पक्षतामासमेत प्रश्न उठाउने गरेका छन् ।जसरी पनि फागुन २१ मै निर्वाचन गराउन सक्रिय प्रधानमन्त्री कार्कीले सोमबारको क्याबिनेट बैठकमा मन्त्रीहरूको राजनीतिक सक्रियताप्रति असन्तुष्टि जनाएको बताइएको छ ।कुलमानले मन्त्री पद छाड्नुपर्ने प्रधानमन्त्रीको भनाइप्रति केही मन्त्रीहरुले सहमतिसमेत जनाएका थिए ।
मन्त्रिपरिषद्मा अहिले घिसिङ, सञ्चार तथा सूचनाप्रविधि मन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता राजनीतिमा जाने आकांक्षा देखाइरहेका छन् ।खरेल र गुप्ता घिसिङ जस्तो प्रत्यक्ष देखिएका छैनन् । गुप्ता रास्वपा, बालेन र उज्यालो नेपाल पार्टीको एकताको सहमति गर्दासँगै देखिएका थिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE