आइतवार, माघ १९, २०८२
Sunday, February 1, 2026

फागुन २१ पछिको संसद बैठक पुतली बगैँचास्थित निर्माणाधिन भवनमा बस्ने

काठमाडौं। आगामी २१ फागुनको निर्वाचनपछि गठन हुने प्रतिनिधि सभाको बैठक सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधिन संसद भवनमै सञ्चालन हुने भएको छ ।

निर्वाचनपछिको संसद सञ्चालन गर्न सरकारले निर्माणाधिन संसद भवन उपलब्ध गराउने जानकारी गरिसकेको संसद सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले जानकारी दिए । आईतवार पत्रकारसँग कुरा गर्दै प्रवक्ता गिरीले निर्माणाधिन संसद भवनका १२ वटा भवनमध्ये तत्कालका लागि ६ वटा भवन उपलब्ध गराउने जानकारी गराएको बताए । उनकाअनुसार प्रतिनिधि सभा गठन भइसकेपछि राष्ट्रिय सभाको बैठक समेत सोही निर्माणाधिन संसद भवनबाटै सञ्चालन हुनेछ । प्रवक्ता गिरीले निर्माणाधिन संसद भवनको ९० प्रतिशत भौतिक पूर्वाधार निर्माणको काम सकिसकेको भन्दै चैतसम्म बाँकी काम सम्पन्न गर्नेगरी सरकारसँग निरन्तर छलफल भइरहेको बताए । उनले निर्वाचनपछि गठन हुने प्रतिनिधि सभाको बैठक सञ्चालनको लागि सचिवालयले अन्य कुनै विकल्प नहेरेको समेत बताए । उनले अत्याधुनिक प्रविधिसहित निर्वाचनपछिको संसद सञ्चालन गर्न आवश्यक तयारी भइरहेको समेत जानकारी दिए ।

उनले भने, ‘निर्वाचनपश्चात गठन हुने प्रतिनिधि सभाको बैठक कहाँ बस्छ भन्ने जिज्ञासा बारम्बार आउने गरेको छ । यस सम्बन्धमा सचिवाले पनि नेपाल सरकारसँग छलफल गरिरहेकै अवस्था हो । पछिल्लो छलफलअनुुसार नेपाल सरकारले जुन निर्माणाधिन संसद भवन छ त्यसमा १२ वटा भवन रहेका छन् । जसमध्ये तत्कालका लागि ६ वटा भवन उपलब्ध गराउने अब गठन हुने प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकसमेत निर्माणाधिन संसद भवनमै बस्ने जानकारी सरकारले गराएको छ । अहिले त्यहाँ ९० प्रतिशत भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको छ । अझै पनि समय बाँकी छ । अबको एक महिनामा बाँकी कामहरु समेत सम्पन्न गरेर चैतको पहिलो हप्तासम्ममा सचिवालयलाई उपलब्ध गराउने भन्ने छलफल भएको छ । त्यसकारण संसद सचिवालय वैकल्पिक व्यवस्थाको बारेमा सोचेको छैन । हामी पनि सोहीअनुसार तयारी अघि बढाइरहेका छौँ ।’

यसअघि संसद बैठक बस्दै आएको काठमाडौंको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेन–जी आन्दोलनको क्रममा आन्दोलनकारीहरुले आगजनी गरेर ध्वस्त बनाएका थिए । उक्त भवनको पुर्ननिर्माण कार्य अझै सुरु भएको छैन । हाल राष्ट्रिय सभाको १९ औँ अधिवेशन सिंहदरबारस्थित कृषि समितिको हलबाट सञ्चालन भइरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x