मङ्लबार, माघ २१, २०८२
Tuesday, February 3, 2026

संघ, प्रदेश र स्थानीय तहले निर्माण गरेका कानूनबीच एकरूपता देखिएनः संसदीय समिति

काठमाडौं। संघ, प्रदेश र स्थानीय सरकारले निर्माण गरेका कानूनबीच एकरूपता नदेखिएको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले निष्कर्ष निकालेको छ ।

मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो । समितिले यसअघि सुदूरपश्चिम र वागमती प्रदेश तथा त्यहाँका स्थानीय तहमा कानून निर्माण र कार्यान्वयनबारे अध्ययन गरेको थियो । प्रदेश र स्थानीय तहमा कानून निर्माणको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदामाथिको छलफलमा यस्तो निष्कर्ष निस्केको समिति सभापति तुलसाकुमारी दाहालले बताइन् । उनले अध्ययनका क्रममा प्रदेश तथा स्थानीय तहमा कानून निर्माणको प्रक्रिया, एकल अधिकार सूचीअन्तर्गतका विषयवस्तु, प्रदेश सभा, गाउँसभा र नगरसभाले विधेयक पारित गर्ने प्रक्रियाबारे अध्ययन गरिएको उल्लेख गरिन् । उनकाअनुसार अध्ययनका क्रममा केही स्थानीय तहले नमूनाका रूपमा कानून निर्माण गरेको पाइए पनि तिपय आवश्यक कानून अझै निर्माण हुन बाँकी रहेको देखिएको छ । उनले संघ र प्रदेश सरकारले निर्माण गरेका कानूनबीच एकरूपता नदेखिएको भन्दै प्रतिवेदनलाई पूर्णता दिएर राष्ट्रिय सभामा बहसको माग गर्ने समेत बताइन् ।

उनले भनिन्, ‘प्रदेश तथा स्थानीय तहमा कानून निर्माणको प्रक्रिया के भइरहेको छ एकल अधिकार सूचिका विषयवस्तु, प्रक्रियागत कुराहरु प्रदेश सभा, गाउँ सभा र नगरसभाले कसरी पारित गर्यो, प्रदेश सभाले विधेयक निर्माण कसरी गर्नुभयो भनेर हामीले अनुभवको आदानप्रदान पनि गर्यौँ । यो कार्य हामीले सुदूरपश्चिम प्रदेश तथा त्यहाँका तीन वटा पालिकामा र बागमती प्रदेशको साथै दुई वटा पाालिकामा हामीले यो काम गर्यौँ । आजको समितिको बैठकमा त्यही अध्ययन प्रतिवेदनको मस्यौदा प्रतिवेदनमाथि छलफल गर्यौँ । माननीय सदस्यहरुले प्रतिवेदन निर्माणको लागि सुझावहरु समेत दिनुभएको छ । उहाँहरुको सुझावसहित प्रतिवेदनलाई पूर्णता दिएर राष्ट्रिय सभामा छलफलको माग गर्ने हाम्रो तयारी छ । तीन तहको सरकारबीचको अन्तरसम्बन्ध कानून निर्माणको प्रक्रियामा के भइरहेको छ र उहाँहरुले कसरी कानून निर्माण गरिरहेका छन् हाम्रो अध्ययनबाट नमूनाको रुपमा कानून निर्माण गरेको देखियो । कतिपय कानूनहरु बन्न बाँकी रहेको तथा बनेका कानूनहरुमा संघ र प्रदेश सरकारले निर्माण गरेका कानूनहरुबीच एकरुपता देखिएन । स्थानीय तहमा कानून निर्माण गर्न कानूनी अधिकृतको दरबन्दी नै सिर्जना गरेर जानुपर्ने अवस्था छ । यता संघ सरकारले आवश्यक कानून निर्माण नगर्दा प्रदेश र स्थानीय तहलाई काम गर्न गाह्रो भएको अवस्था छ ।’

सभापति दाहालले स्थानीय तहमा कानून निर्माणलाई प्रभावकारी बनाउन कानूनी अधिकृतको दरबन्दी सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x