निर्वाचन आयोग र साइबर ब्युरोमा वर्षमान पुनको उजुरी
काठमाडौं । आफ्नो नाममा नक्कली चुनावी प्रतिबद्धतापत्र बनाएर सामाजिक सञ्जालमार्फत भ्रामक प्रचार गरिएको भन्दै नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले निर्वाचन आयोग र प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।
यो कार्यमा संलग्नमाथि कानूनी कारबाहीको माग गर्दै पुनले आफ्नो सचिवालयमार्फत आयोग र ब्युरोमा उजुरी दिएका हुन् । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पुन गृहजिल्ला रोल्पाबाट उम्मेदवार छन् । निवेदनमा अत्यन्तै भ्रामक, झुठा र चरित्र हत्या गर्ने किसिमका सामग्री सम्प्रेषण भइरहेकाले विद्युतीय कारोबार ऐन ०६३ को दफा ४७ बमोजिम सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धको कसुर तथा निर्वाचन आचारसंहिताको उल्लंघन भएको उल्लेख छ ।
‘मतदातालाई भ्रमित तुल्याई स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने हनन् गरेको छ । यसले निर्वाचनको स्वच्छतालाई असर पार्ने र समाजमा द्वेष फैलाउने कार्य गरेको हुनाले उक्त भ्रामक सामग्रीहरु तत्काल हटाउन लगाउनुका साथै यस्ता कार्यमा संलग्न व्यक्तिहरु तथा समूहको पहिचान गरी प्रचलित कानून बमोजिम कडा कारबाही गरिपाउन यो निवेदन पेश गर्दछु,’ उजुरीमा भनिएको छ ।
प्रतिस्पर्धीमध्येका उम्मेदवारले आफ्नो विषयमा मतदातमा भ्रम फैलाउने र चरित्र हत्या गर्ने उद्धेश्यले प्रतिबद्धतापत्र बनाएर सामाजिक सञ्जालमा राखेको भेटिएकाले त्यसमा संलग्न व्यक्तिमाथि कारबाहीका लागि निर्वाचन आयोग र साइबर ब्युरोमा उजुरी दिएको पुनको भनाइ छ ।
पुनले पार्टीका तर्फबाट मतदातामा लैजाने चुनावी घोषणापत्र लेखनको अन्तिम चरणमा रहेको र आफ्नातर्फबाट मौखिकबाहेक लिखित रुपमा छुट्टै घोषणा वा प्रतिबद्धतापत्र नबनाएको उल्लेख गरे ।
पुनको भन्दै सार्वजनिक गरिएको नक्कली प्रतिबद्धतपत्रमा रोल्पा सदरमुकाम र सुलिचौरमा रेड लाइट एरिया तोक्ने, बडाचौरमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने, जिल्लामा विश्वविद्यालय र प्रत्येक वडामा क्याम्पस निर्माण गर्ने तथा माडीचौर फुटबल मैदानमा वीर अस्पतालन्दा ठूलो अस्पताल बनाउने, मेट्रो रेल र केबलकार जस्ता विषय उल्लेख गरिएका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE