निर्वाचन आचारसंहिताको अनुगमनलाई प्रभावकारी बनाउने प्रेस काउन्सिलको निर्णय
काठमाडौं । प्रेस काउन्सिल नेपालले सातवटै प्रदेशका प्रमुख शहरमा निर्वाचन आचारसंहिता र मिडिया विषयक कार्यक्रम गर्ने भएको छ ।
काउन्सिलको १२औँ बैठकले आचारसंहितासम्बन्धी अध्ययन, अनुसन्धान र जागरणलाई यसवर्ष र आउँदो वर्षसमेत प्राथमिकता दिई कार्यक्रम तय गर्ने निर्णय गरेको वरिष्ठ प्रशासकीय अधिकृत एवम् प्रवक्ता दीपक खनालले जानकारी दिए।
पत्रपत्रिका मूल्याङ्कनका लागि विज्ञको रोष्टर अद्यावधिक गर्ने एवम् पत्रपत्रिका वितरण सम्परीक्षणको मापदण्डलाई पुनरावलोकन गरी वर्गीकरण प्रक्रियालाई यथार्थपरक, वस्तुनिष्ठ एवम् समयानुकूल बनाउन आवश्यक कार्य गरिने काउन्सिलले जनाएको छ ।
यस्तै, काउन्सिलद्वारा प्रदान गरिने विभिन्न पुरस्कारलाई थप पारदर्शी प्रभावकारी बनाउन पुरस्कारसम्बन्धी कार्यविधिमा सुधार र परिमार्जन गरिनेछ । पत्रपत्रिकासहित सञ्चारमाध्यमको अभिलेख अद्यावधिक गर्ने र अद्यावधिक गर्ने सन्दर्भमा देखिएका समस्या एवम् चुनौतीलाई समाधान गर्न, अभिलेखसम्बन्धी अवधारणापत्रसहित कार्ययोजना तयार गर्ने काउन्सिलले निर्णय गरेको छ ।
बैठकले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्नरगराउन सम्बन्धित सबैमा अपिल गरेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE