हामीभन्दा नयाँ कोही छैन, नयाँ भन्नेहरू दलालका एजेन्ट हुन्ः पुष्पकमल दाहाल
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नयाँ शक्तिका नाममा भइरहेको चर्चालाई ‘होहल्ला’को संज्ञा दिएका छन् ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने र उत्पीडित वर्गको हक–अधिकार सुनिश्चित गर्ने आफ्नो पार्टी नै मुलुकको सबैभन्दा नयाँ र प्रगतिशील शक्ति भएको दाबी गरेका हुन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम र थारूलाई पहिचान र अधिकार दिने एकमात्र पार्टी आफ्नो भएको जिकिर गरे । राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै दाहालले तथाकथित नयाँ भन्नेहरूकै कारण देश संकटमा परिरहेको टिप्पणी गरे । दाहालले विचार र एजेण्डाका आधारमा मात्र को नयाँ र को पुरानो भन्ने छुट्याउनुपर्ने तर्क गर्दै राष्ट्र र जनताको हितमा समर्पित हुने शक्ति नै वास्तविक नयाँ भएको स्पष्ट पारे ।
उनले भने, ‘नयाँ र पुरानाका कुरा छन् । आजभोलि नयाँ नयाँ भन्नेतिर मान्छेहरुलाई सोसल मिडियामार्फत निकै नै होहल्ला गरिएको छ । नेपालमा हामी भन्दा नयाँ कोही पनि छैनन् । नेपाली कम्युनिष्ट पार्टी मात्रै नयाँ हो । नेपाली कम्युनिष्ट पार्टी सबैभन्दा नयाँ हो । किनकी यो गणतन्त्रको वाहक हो । संघीयताको वाहक हो । महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, थारुलाई पहिचान र अधिकार दिने एकमात्र पार्टी हो नेपाली कम्युनिष्ट पार्टी । आजकाल नयाँ भनेर सोसल मिडियामा होहल्ला गर्नेहरु नयाँ हुन् ति सबैभन्दा पुराना हुन् । ति दलाल पुँजीपति र विचौलियाहरुको इसारामा चल्नेहरु कसरी नयाँ हुनसक्छन् तपाईंहरुले जनतालाई भनिदिनुस्, घरघरमा गएर, टोल टोलमा गएर नयाँ भनेको नेपाली कम्युनिष्ट पार्टी हो । जसले जनताको हक अधिकार र पहिचानको लडाईं लड्यो । जसले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यो । त्यो चाहीँ पुरानो रे । दलाल र विचौलियाहरुको गुणगान गाउने ति चाहीँ नयाँ तपाईंहरुले जनतालाई भनिदिनुपर्यो राम्रैसँग । नयाँ केलाई भन्ने जसको विचार, एजेण्डा नयाँ छ त्यही नयाँ हो । जसले राष्ट्र र जनताको हितको निम्ति आफूलाई समर्पित गर्दछ, त्यही नयाँ हो ।’
संयोजक दाहालले परिवर्तनको माध्यममा बसेर परिवर्तनकै वाहकहरुलाई गाली गर्नेहरु नयाँ हुन नसक्ने बताउनु भयो । देश अहिले संकटमा रहेको पनि बताए । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै तथाकथित नयाँ भन्नेहरुकै कारण देश संकटमा रहेको टिप्पणी गरे ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE