औद्योगिक सम्पती ऐन समयानुकुल बनाउन आवश्यक
काठमाडाैं । औद्योगिक सम्पती ऐनलाई तत्काल परिमार्जन गरी समयानुकुल बनाउन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।बौद्धिक सम्पती संरक्षण समाज नेपालले आयोजना गरेको प्रश्तावित औद्योगिक सम्पती ऐनसम्बन्धी कार्यक्रममा सरोकारवालाहरूले औद्योगिक सम्पती ऐन समयसापेक्ष नभएको बताएका हुन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले औद्योगिक सम्पती ऐनलाई ‘९० वर्षको वृद्ध बालक’को संज्ञा दिँदै हालसम्म पनि पुरानै कानून बोकेर हिँड्नुपरेको अवस्था रहेको बताउनु भयो । उहाँले २०२२ सालमा बनेको कानूनलाई हालसम्म परिवर्तन गर्न नसकेको उल्लेख गर्नुभयो । ऐन परिमार्जनका लागि सरकार र निजी क्षेत्र दुवैबाट प्रतिवद्धता आएको भएपनि प्रक्रिया अगाडी नबढेको उहाँको भनाई छ । मन्त्री सिन्हाले औद्योगिक सम्पतीलाई देशको वास्तविक सम्पत्ति भएको उल्लेख गर्नुहुँदै यसको सदुपयोग गर्न नेपालमा धेरै ढिलो भइसकेको बताउनु भयो । उहाँले औद्योगिक सम्पती सम्बन्धी विधेयक सदनमा पुगे पनि हाल अन्योलमा परेको बताउनुभयो । उहाँले औद्योगिक सम्पतीको संरक्षणका लागि शक्तिशाली र स्वायत्त निकाय आवश्यक रहेको उल्लेख गर्नुभयो ।
पूर्वअर्थ तथा उद्योगमन्त्री शंकरप्रसाद कोइरालाले संविधानको धारा २५ मा बौद्धिक सम्पतीलाई सम्पत्तिको परिभाषामा समेट्न सफल भएपनि त्यसअनुसारको कानूनी प्रगति हुन नसकेको बताउनु भयो । उहाँले २०७३ सालमा ल्याइएको एकीकृत बौद्धिक सम्पत्ति नीतिले प्रतिलिपि अधिकार र औद्योगिक सम्पत्तिलाई एउटै ढाँचामा अघि बढाउने उद्देश्य राखेपनि त्यो अगाडी बढ्न नसकेको जानकारी दिनुभयो । उहाँले प्रतिलिपि अधिकार र औद्योगिक सम्पती सम्बन्धी कानून छुट्टाछुट्टै रूपमा अघि बढेको उल्लेख गर्नुहुँदै उहाँले दुबै कानुनलाई अब छुट्टाछुट्टै बनाउनुपर्नेमा नै जोड दिनुभयो । उहाँले औद्योगिक सम्पत्ति विधेयकलाई मिलेसम्म अध्यादेशमार्फत ल्याउन सरकारसँग आग्रह गर्नुभयो । उहाँले निर्वाचन आचारसंहिताले विधेयक ल्याउन नमिल्ने भएमा नयाँ आउने संसदले पारित गर्नेगरि तयारी गर्न आग्रह गर्नुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले कानूनहरु संसोधन हुँदै जाने बताउनु भयो । औद्योगिक सम्पती सम्बन्धि कानून पनि निरन्तर संशोधन हुँदै जाने उहाँको भनाई छ । मस्यौदा तयार गर्ने क्रममा समावेश नभएका एआई, डाटा राइटजस्ता नयाँ विषयहरू अहिले थपिन थालेको उल्लेख गर्दै गर्नुहुँदै उहाँले कानूनमा पूर्णता खोज्दा प्रक्रिया नै रोकिने जोखिम हुने बताउनु भयो । उहाँकाअनुसार कानून कार्यान्वयनको अभ्यासबाटै परिष्कृत हुँदै जाने भएकाले सबै सरोकारवालाको सुझाव समेटेर ऐनको मस्यौदा तयार गरि छिटो राष्ट्रिय सभामा दर्ता गर्ने बताउनु भयो ।
कार्यक्रममा विज्ञहरुले प्रश्तावित औधोगिक सम्पती ऐनका सन्र्दभका कार्यपत्रहरु प्रश्तुत गरेका थिए । उनीहरुले बौद्धिक सम्पती तथा प्रतिलिपि अधिकार रक्षाको लागी कडा कानून बनाउन आवश्यक रहेको सुझाव दिएका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE