सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

हिमाली जिल्लामा फागुन २१ गते चुनाव गराउन सम्भव : प्रधानमन्त्री कार्की

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी फागुन २१ गते नै निर्वाचन गराउन सम्भव रहेको बताएकी छिन्।हिमाली जिल्लाहरूमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थापन तथा भौगोलिक चुनौतीको स्थलगत निरीक्षणका क्रममा आज सोलुखुम्बु आएकी उनले सोलु सहित हिमाली जिल्लामा तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सकिने अवस्था रहेको जानकारी दिइन् । प्रधानमन्त्री कार्कीले कुनै पनि बहानामा निर्वाचन सार्ने अवस्था नरहेको उल्लेख गरिन् । उनले निर्वाचन भयरहित, शान्त, निष्पक्ष र धाँधलीरहित ढङ्गबाट सम्पन्न हुनेमा ढुक्क रहन आम मतदाता, राजनीतिक दल तथा उम्मेदवारहरूलाई आग्रह गरिन् ।

सरकारको सम्पूर्ण ध्यान सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन केन्द्रित रहेको जनाउँदै उनले सम्बद्ध सबै निकायलाई आफ्नो सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्न निर्देशन दिइन् । जिल्ला सुरक्षा समितिसँगको ‘ब्रिफिङ’मा प्रधानमन्त्री कार्कीले मतदाताले कुनै पनि किसिमको डर, दबाब वा प्रभावबिना मतदान गर्न सक्ने वातावरण सिर्जना गर्न विशेष निर्देशन दिएकी छिन् । हिमाली भेगका दुर्गम मतदान केन्द्रहरूमा सुरक्षामा कुनै सम्झौता नगर्न र आवश्यक परे थप सुरक्षा जनशक्ति परिचालन गर्न उनले निर्देशन दिइन्। सो अवसरमा प्रमुख जिल्ला अधिकारी लीलाकुमारी पाण्डे केसीले प्रस्तुत गर्नुभएको अभिलेखीय सामग्रीमार्फत जिल्लाको समग्र सुरक्षा अवस्था, मतदान केन्द्रको भौतिक अवस्था तथा पहुँचसम्बन्धी विवरण प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिएको थियो ।

प्रधानमन्त्री कार्कीले सबै मतदान केन्द्रहरूको विशेष अवलोकन गर्दै सुरक्षा, सामग्री ढुवानी र मतपत्र सुरक्षामा उच्च सतर्कता अपनाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए।जिल्लामा १२३ मतदानस्थल छन् । यसमा सातवटा हिमाली क्षेत्रमा पर्ने प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए । विशेष गरी हिमपात, मौसम परिवर्तन र भौगोलिक जोखिमलाई ध्यानमा राख्दै वैकल्पिक योजनासमेत तयार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।प्रधानमन्त्री कार्कीले हिमाली जिल्लाका मतदाताको मताधिकार सुनिश्चित गर्नु सरकारको संवैधानिक दायित्व भएको उल्लेख गर्दै सोलुखुम्बु जस्ता दुर्गम जिल्लामा पनि मतदाताले सहज रूपमा मतदान गर्न पाउने व्यवस्था मिलाइने बताइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x