नेपाली कांग्रेसले क्रियाशील सदस्यलाई सबैभन्दा ठूलो जिम्मेवारी तोक्दै परिपत्र जारी
काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्यलाई सबैभन्दा ठूलो जिम्मेवारी तोक्दै परिपत्र जारी गरेको छ । आफ्नो पक्षमा परिणाम हासिल गर्न क्रियाशील सदस्यहरूलाई केन्द्रमा राख्दै कांग्रेसले ५–५० रणनीतिसहित परिपत्र जारी गरेको हो ।
कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका तर्फबाट गरिएको परिपत्रमा प्रत्येक क्रियाशील सदस्यले १० परिवारलाई ‘कन्भिन्स’ गर्ने जिम्मेवारी तोकिएको छ । त्यसमा समूहगत रूपमा क्रियाशील सदस्यले काम गरी पाँचजनाले ५० परिवारलाई ‘कन्भिन्स’ गर्नुपर्ने छ । त्यसबाहेक ‘मतदाता शिक्षा’ दलहरूको पनि दायित्व भएको भन्दै स्थानीय प्रचार सँगसँगै मतदाता शिक्षाको जिम्मेवारी पनि बाँडफाँट गरेर सञ्चालन गर्ने उल्लेख छ । यस्तै, भातृ तथा शुभेच्छुक संस्थालाई डिजिटल प्रचारका लागि परिपत्र गरेको छ । कांग्रेसले विदेशस्थित जनसम्पर्क समितिका पदाधिकारी र सदस्यलाई आ–आफ्नो निर्वाचनकेन्द्रित भएर चुनाव जिताउने भूमिका तोकिदिएको छ ।
चुनावी मुद्दाका रूपमा मानव बेचबिखन, जातीय विभेद, बालश्रम, घरेलु हिंसा, लागुऔषध दुव्र्यसन लगायतका सामाजिक विसंगति अन्त्यको संकल्प अघि सारेको कांग्रेसले यी मुद्दालाई सर्वपक्षीय दायित्वका रूपमा सम्प्रेषण गर्ने उल्लेख छ । चुनावी प्रचार अभियानमा बालबालिका प्रयोग कानुन र संस्कार दुवैको विपरीत हुने भन्दै पार्टीका सबै तहलाई सजग गराएको छ । ‘श्रमिक र कृषकको सम्मान, अन्ततः सबैको सम्मान’ भन्ने नारालाई व्यवहारमा देखाउँदै मत जित्नुअघि मन जित्ने कांग्रेसको अठोट छ । आगामी संसद्ले संविधानमा आवश्यक संशोधन गर्ने भन्दै संविधानलाई अझ समयानुकूल र बलियो बनाउन नेपाली कांग्रेसले नेतृत्व गर्नेगरी मत माग्न पनि परिपत्रमा भनिएको छ । कांग्रेसले प्रचार अभियानका लागि स्वःस्फूर्त आर्थिक सहयोग स्वीकार्न भन्दै अनावश्यक दबाब दिएर सहयोग जुटाउने काम नगर्न पनि सतर्क गराएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE