आम जनता पार्टीको चुनावी घोषणापत्रः ‘प्रत्यक्ष कार्यकारीदेखि ‘राइट टु रिकल’को व्यवस्था, बेरोजगारीलाई समेत भत्ता’
काठमाडौं। आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रशु साह नेतृत्वको आम जनता पार्टीले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।
बुधवार काठमाडौंमा एक कार्यक्रमका बीच पार्टी चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो । पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, कर सीमा र निःशुल्क आधारभुत सेवासहित व्यापक सुधारका एजेन्डा अघि सारेको छ । पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा शासन प्रणालीदेखि अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, ऊर्जा र वैदेशिक नीतिसम्मका संरचनागत परिवर्तनका लागि प्रतिवद्धता जनाएको छ ।
प्रत्यक्ष कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली
सार्वजनिक घोषणापत्रमा प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष जननिर्वाचित हुने व्यवस्था लागू गर्ने प्रश्ताव गरिएको छ । संघ र प्रदेशमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउने नीति पनि समावेश घोषणापत्रमा उल्लेख गरेको छ । निर्वाचित जनप्रतिनिधिले काम नगरेमा कार्यकालमै जनताले फिर्ता बोलाउन पाउने ‘राइट टु रिकल’ को अधिकार सुनिश्चित गर्ने प्रतिवद्धता पनि घोषणापत्रमा छ । पार्टीले सरकारले कुल गार्हस्थ उत्पादनको २० प्रतिशतभन्दा बढी कर लगाउन नपाउने संवैधानिक व्यवस्था गर्ने प्रस्ताव गरिएको छ । पार्टीले गैरआवासीय र विदेशीलाई नागरिकता दिने विद्यमान प्रावधानको पुनरावलोकन गर्ने एजेण्डा अघि सारेको छ ।
भ्रष्टाचार नियन्त्रणका लागि विशेष कानूनी संरचना र न्यायालयको पूर्ण डिजिटलीकरण
आम जनता पार्टीले भ्रष्टाचारमाथि जनताको प्रत्यक्ष निगरानी रहने विशेष कानुनी संरचना बनाउने प्रतिवद्धता जनाएको छ । मुलुकमा पारदर्शीता कायम गर्न सरकारी खर्च र विकास आयोजनाको विवरण अनलाइनमार्फत सार्वजनिक गरिने उल्लेख छ । त्यस्तै, नीतिगत भ्रष्टाचारमा संलग्न राजनीतिक नेता वा व्यक्तिको सम्पती जफत गरी कडा कारबाही गरिने प्रतिवद्धता व्यक्त गरिएको छ । न्यायालयको पूर्ण डिजिटलीकरण र पारदर्शी नियुक्ति प्रणालीमार्फत न्यायिक सुधार गर्ने योजना समेत पार्टीले अघि सारेको छ ।
रोजगारीको ग्यारेन्टी
आम जनता पार्टीले ‘एक घर, एक रोजगारी’ कार्यक्रम लागू गर्ने र बेरोजगारलाई बेरोजगारी भत्ता दिने घोषणा गरेको छ । नेपाललाई ‘ग्लोबल आईटी हब’ बनाउने लक्ष्यसहित युवा उद्यमीलाई १० लाखदेखि २५ लाख रुपैयाँसम्म बीउ पुँजी ९सीड मनी० उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । हरेक विद्यार्थीले अनिवार्य रूपमा कम्तीमा एक उच्च प्राविधिक सीप सिक्नुपर्ने व्यवस्थाको ग्यारेन्टी गर्ने सार्वजनिक घोषणा पत्रका उल्लेख छ ।
शिक्षा, स्वास्थ्य र आधारभुत सेवा निःशुल्क
पार्टीले पूर्ण साक्षर राष्ट्र, स्मार्ट कक्षाकोठा र ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रम लागू गर्ने प्रतिबद्धता जनाएको छ । स्वास्थ्य क्षेत्रमा डिजिटल हेल्थ कार्ड, गम्भीर रोगको पूर्ण निःशुल्क उपचार र प्रत्येक पालिकामा विशेषज्ञ अस्पताल स्थापना गर्ने योजना सार्वजनिक गरेको छ । त्यस्तै, शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युत् आधारभूत रूपमा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता आम जनता पार्टीले जनाएको छ ।
पूर्वाधार, ऊर्जा र आवास
पार्टीले मुख्य राजमार्गको स्तरोन्नति, सडक सुरक्षामा उच्च प्रविधिको निगरानी प्रणाली र ठूला सहरमा व्यवस्थित सार्वजनिक पार्किङको व्यवस्था गर्ने एजेण्डा अघि सारेको छ । राजमार्गमा अप्टिकल फाइबर विस्तारसहित डिजिटल करिडोर विकास गर्ने योजना घोषणापत्रमा समावेश छ । विद्युत् उत्पादन र निर्यात वृद्धि गर्दै ‘हिमालयन ओरिजिन’ ब्राण्डमार्फत बोतलको पानी अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने दाबी आम जनता पार्टीको छ । पार्टीले भूमिहीनका लागि ‘भर्टिकल हाउजिङ’ निर्माण र योजनाबद्ध नयाँ सहर विकास गर्ने प्रतिवद्धता पनि जनाएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE