एमालेले जारी गर्यो अध्यक्ष ओलीलाई मत दिनैपर्ने ३० कारण
काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई मत हाल्नैपर्ने ३० वटा कारण अघि सारेको छ । पार्टीको झापा क्षेत्र नम्बर– ५ क्षेत्रीय कमिटीले प्रकाशन गरेको अपिलमा राष्ट्रिय स्वाधीनताको रक्षादेखि शिक्षक दरबन्दी मिलानसम्मका विषयहरू समेटिएको छ ।
केपी शर्मा ओलीलाई नै भोट किन भन्ने शीर्षकको अपिलमा खस्किएको मनोबल उठाउनका लागि ओलीलाई जिताउनुपर्ने उल्लेख गरिएको छ । अपिलमा ‘झापा ५ मा सुरु गरिएका विकासका अधुरा योजनाहरूलाई सम्पन्न गर्नका लागि केपी ओलीलाई मत दिन अपिल गरिन्छ भन्ने उल्लेख गरिएको छ ।
एमालेको अपिलमा नवयुवालाई प्राविधिक शिक्षा उपलब्ध गराइ युवामा सीपमूलक विकास गर्दै स्वरोजगारको अभिवृद्धिका लागि ओलीलाई मतदान गर्न आह्वान गरिएको छ । ओलीलाई जिताएर सुस्ताएको अर्थतन्त्र चलायमान बनाउन र कृषि क्षेत्रको विकास गरी खाद्यान्नमा आत्मनिर्भर बनाउन पनि केपी ओलीको आवश्यकता रहेकोले ओलीलाई मतदान गर्न अनुरोध गरिएको छ ।
निर्माणाधीन एसियन हाइ वे, मध्य पहाडी राजमार्ग, मदन भण्डारी राजमार्ग र हुलाकी सडकका अधुरो निर्माण सम्पन्न गर्नका लागि पनि ओलीलाई मतदान गर्न आह्वान गरिएको छ । यसैगरी दमकको मुख्य आर्थिक र मानवीय स्रोतको रुपमा रहेको दमक–रवि सडक–चिसापानी सडक निर्माण सम्पन्न गरी जनताको जीवनस्तर उकास्नका लागि पनि अध्यक्ष ओलीलाई निर्वाचित गर्न माग गर्दै एमालेले अपिल जारी गरेको छ ।
भूमिहीन, दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधान गर्न पनि एमालेले ओलीलाई मतदान गर्नका लागि अनुरोध गरेको छ । एमालेका केन्द्रीय सदस्य दीपक कार्कीका अनुसार रतुवा, मावा, कमल लगायतका खोलाको तटबन्धन कार्य पुरा गर्नका लागि पनि ओलीलाई जिताउन आम मतदातासँग आह्वान गरिएको हो । यसै गरी दमक, गौरादह र गौरीगञ्जका सबै स्थानीय तहका अस्पतालमा सहज सेवा विस्तारका लागि पनि ओलीलाई मत दिन आह्वान गरिएको कार्कीले बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE