आइतवार, फाल्गुन ३, २०८२
Sunday, February 15, 2026

आचारसंहिता उल्लंघन गरे उमेदवारी खारेज र ६ वर्षको प्रतिवन्ध लाग्नसक्छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचार संहिताको पूर्ण परिपालना गर्न राजनीतिक दल र उमेदवारहरुलाई निर्देशन दिएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको १५ दिने प्रचारप्रसारको पूर्वसन्ध्यामा आयोजित पत्रकार भेटघाटमा उनले आचारसंहिता उल्लंघनका घटनामा आयोगले ‘शून्य सहनशीलता’ अपनाउने स्पष्ट पारेका हुन् । आगामी निर्वाचनको कार्यतालिकाअनुसार फाल्गुन ३ गते राति १२ बजेपछि १८ गते राति १२ बजेसम्म राजनीतिक दल र उमेदवारहरुले निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन् । यस १५ दिनको अवधिमा जुलुस, आमसभा, कोणसभा र सञ्चार माध्यममार्फत सामग्री प्रचार गर्न पाइने व्यवस्था छ । १८ गते राति १२ बजेपछि भने ‘मौन अवधि’ शुरु हुने र कुनैपनि प्रकारको प्रचार वा ‘मस्तिष्क मन्थन’ समेत गर्न नपाइने भण्डारीले बताए ।

उमेदवारी खारेजी र ६ वर्षको प्रतिवन्धको चेतावनी
आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्ने, दण्ड जरिवाना गर्नेदेखि उमेदवारी खारेजीसम्मको कारबाही हुनसक्ने आयोगको भनाइ छ ।
‘आचार संहिता उल्लंघन गरेको ठहर भएमा उमेदवारी खारेज हुनसक्छ र ६ वर्षसम्म पुनः कुनै पनि राजनीतिक प्रतिष्पर्धामा भाग लिन नपाउने गरी आयोगले निर्णय गर्नसक्छ ।’ आयुक्त भण्डारीले चेतावनी दिँदै भने ।
आयोगले यस पटक अनुगमनकर्तालाई सम्बन्धित स्थानमै कारबाही गर्नसक्ने अधिकार समेत प्रत्यायोजन गरेको छ ।

बैंकिङ्ग च्यानलबाट मात्रै खर्च गर्नुपर्ने अनिवार्य व्यवस्था
आर्थिक पारदर्शिता कायम गर्न हरेक उमेदवार र दलले छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ । २५ हजार रुपैयाँभन्दा माथिको कुनैपनि सहयोग वा खर्च बैंकमार्फत नै गर्नुपर्ने र यसको आय–व्यय विवरण आधिकारिक मानिने आयोगले जनाएको छ । बैंक खाता नखोलिएका उमेदवारहरुका लागि सहजीकरण गर्न आयोगले वाणिज्य बैंकका प्रतिनिधिहरुसँग छलफल गरिरहेको समेत जानकारी दिइएको छ ।

सामाजिक सञ्जालमा मिथ्या सूचना र दुष्प्रचार निषेध
यस पटक सामाजिक सञ्जालमा राजनीतिक विज्ञापन गर्न पाउने व्यवस्था गरिए पनि मिथ्या सूचना दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिमाथि कडा निगरानी राखिनेछ । संगठित रूपमा फैलाइने मिथ्या सूचनाले निर्वाचनको निष्ठतामा असर पार्ने हुँदा सामाजिक सञ्जाल कम्पनीहरुसँगको सहकार्यमा नियमन गरिने आयुक्त भण्डारीले स्पष्ट पारे ।

ऐतिहासिक मतदाता नामावली र युवाको सक्रियता
यसपटकको निर्वाचनमा ठूलो संख्यामा नयाँ मतदाता थपिएको र त्यसमा युवा जमातको बाहुल्यता रहेको आयोगले जनाएको छ । युवा मतदाताहरु सचेत र शिक्षित भएका कारण मतदाता शिक्षा प्रभावकारी हुने र बदर मतको संख्यामा कमी आउने आयोगको पूर्वानुमान छ । ७ सय ५३ वटै स्थानीय तहमा स्वयंसेवकमार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ ।

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि अपील
आयोगले अपील जारी गर्दै सबै उमेदवारलाई प्रतिष्पर्धाको समान अवसर प्राप्त हुने संवैधानिक जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता जनाएको छ ।
‘मतदाता सार्वभौम हुन्, उनीहरुलाई निर्वाध रूपमा आफ्नो मत प्रयोग गर्ने वातावरण तयार गर्नु हामी सबैको दायित्व हो ।’ भण्डारीले भने।
सरकारी स्रोत साधनको दुरुपयोग नगर्न मन्त्रीहरुलाई सजग गराइएको छ भने आमसभापछि फोहोर आफैँ सफा गर्नुपर्ने आचरणको पालनामा समेत जोड दिइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x