उत्तरपूर्वी इजिप्टमा सडक दुर्घटना, १८ जनाको मृत्यु
काठमाडौं । इजिप्टको उत्तरपूर्वी पोर्ट सइद प्रान्तमा ट्रक र यात्रुवाहक पिकअप ठोक्किँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमध्ये अधिकांश माछा फार्ममा काम गर्न जाने माछा मार्ने मजदुर रहेको जनाइएको छ । सरकारी पत्रिका अल–अहरामका अनुसार दुर्घटना बिहीबार स्थानीय समयअनुसार दिउँसो करिब १२ः३० बजे पोर्ट सइदको दक्षिणमा पर्ने ३० जुन एक्सिस राजमार्गमा भएको हो। घाइतेहरूलाई नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि सार्वजनिक अभियोजन कार्यालयले घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ । समाचार एजेन्सी एपीका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरहरूमा पिकअप ट्रक दुई ठूला मालवाहक ट्रकबीच च्यापिएको र सडकभरि भग्नावशेष छरिएको देखिन्छ । एपीले पिकअपमा सवार मजदुरहरू पोर्ट सइद तटीय क्षेत्रमा रहेका माछा फार्मतर्फ कामका लागि जाँदै गरेको जनाएको छ ।
इजिप्टमा सडक दुर्घटना बारम्बार हुने समस्या बनेको छ । तीव्र गति, सडकको कमजोर अवस्था र ट्राफिक नियमको उल्लंघन आदि यस्ता दुर्घटनाका मुख्य कारण मानिन्छ । गत वर्ष जुनमा पनि ट्रक र मिनिबस ठोक्किँदा अधिकांश किशोरीसहित १९ जनाको मृत्यु भएको थियो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE