बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

रास्वपा छोडेका नेताहरु भन्छन्–‘निर्वाचनमा चटकदारलाई होइन, देश बुझेको व्यक्तिलाई मत दिनुहोस्’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका नेताहरुले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्स्य निर्वाचनमा विचार गरेर मात्रै मतदान गर्न आग्रह गरेका छन् । शनिवार काठमाडौमा पत्रकार सम्मेलन गरी उनीहरुले चटकदार अनुहारलाई भन्दा देश र समाज बुझेका जिम्मेवार राजनीतिक व्यक्तित्व र दल रोज्न मतदाताहरुलाई आग्रह गरेका हुन् ।

उनिहरुले देश हाल सबैभन्दा गम्भिर अवस्थामा पुगेकोले सामाजिक सञ्जालको भ्रमभन्दा बाहिर निस्केर सोच विचार गर्न पनि अपिल गरेका छन् । अध्ययन–विश्लेषण गरेर मात्रै मतदान गर्न र स्थायी सरकार निर्माणका लागि विवेकपूर्ण निर्णय लिन उनीहरुको आह्वान छ। वागमती प्रदेशका उपसभापति रहेर हालै रास्वपा परित्याग गरेका दिनेश हुमागाईंले मतदातालाई भावनात्मक प्रचारभन्दा नीतिगत स्पष्टता र देशवोधका आधारमा मत दिन आग्रह गरे ।उनले देशले निकास पाउने र स्थायी सरकार बन्नेगरी मत दिनुपर्नेमा जोड दिए ।

रास्वपाले समयमा अधिवेशन गर्न नसकेको, निर्वाचनमा उम्मेद्वार चयन प्रक्रिया सही नभएको, नेतृत्वमा जवाफदेहीता नभएको कारण आफूले पार्टी छाडेको उनको भनाई छ । नयाँको नाममा नेपाली जनता र जेन–जी आन्दोदनमाथी नै धोकाधडी हुन लागेको उनको आरोप छ।

उनले भने, ‘फागुन २१ गतेका निर्वाचनमा चटकदारहरुलाई मत हाल्ने होइन, राजनीतिक व्यक्तिलाई, देश बुझेको व्यक्तिलाई र समाज बुझेको व्यक्ति र पार्टीलाई तपाईहरुले चुन्नुहोस् । चुपचाप फलानो छाप भनिएको छ, चुपचाप होइन, धेरै अध्ययन गरेर मत हाल्नुस् । दुईचार दिन सोचेपनि हुन्छ । तर देशले निकास पाउनुपर्छ, स्थायी सरकार हुनुपर्छ ।’

रास्वपाबाट अलग भएका प्रणय शमशेर राणाले पार्टी नेतृत्वमाथि संगठनात्मक पारदर्शिता र आन्तरिक लोकतन्त्र कमजोर बनाएको आरोप लगाए । थितिको थालनी र वेथितिको अन्त्य भन्ने नाराका साथ स्थापना भएको पार्टी हाल उल्टो बाटोतिर हिँडेको उनको दाबी छ। उनले उम्मेद्वारी चयन प्रक्रिया संगठनको आधारमा प्राइमरी निर्वाचनबाट हुने भनिएपनि त्यसो हुन नसकेको बताए । पार्टी सदस्यहरूलाई स्क्याम गरिएको दाबी गर्दै उनले आन्तरिक लोकतन्त्रमा विश्वासघात भएको आरोप लगाए । यस विषयमा आफूले पटक पटक आवाज उठाएपनि सुनुवाई हुन नसकेकोले पार्टी छाड्न बाध्य भएको उनको भनाई छ ।

उनले भने, ‘थितिको थालनी वेथितको अन्त्य भनेको साढे तीन वर्षमा ठ्याक्कै उल्टो भयो । थितिको अन्त्य र चरम वेथितिको थालनी रास्वपामा देखिएको छ । पार्टी नेतृत्वले जहिले पनि आफू अनुकुलको संगठन बनाउन थाल्यो । हामी सम्पुर्ण पार्टी सदस्यलाई स्क्याम गरियो, पार्टी सदस्यलाई मेहनत गर, सोही संगठनको आधारमा प्राईमरी ईलेक्सन हुन्छ भनियो तर चुनावको मुखमा आएर आफ्नो नेतृत्व छान्ने त्यो अधिकार संगठनबाट लुटियो । सम्पुर्ण पार्टी स्क्याममा परेको छ ।’

रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति समेत रहिसकेकी ममता शर्माले पार्टीभित्र अपारदर्शिता बढ्दै गएको बताइन् । बाहिर पारदर्शिताको कुरा गरिएपनि काम उल्टो देखिएको कारण दैनिक रूपमा पार्टी छाड्नेहरुको संख्या बढिरहेको उनको भनाई छ । उनले जान्नेलाई छान्ने पार्टीको नारा ठिक उल्टो भएपछि आफूले पार्टी छाडेको जानकारी दिइन् ।

उनले भने, ‘पार्टीले पारदर्शीताको कुरा गर्ने गरेको थियो, तर यहाँभित्र त अपारदर्शीता नै यति धेरै देखियो, त्यसले रास्वपामा लागेका सबै योद्धा साथीहरु प्रतिदिन एक एक गर्दै पार्टी छाड्दै हुनुहुन्छ ।’

रास्वपा त्यागेका नेताहरू प्रणय र ममता नेपाली काँग्रेसमा प्रवेश गरिसकेका छन् भने दिनेश हुमागाईं हालसम्म कुनै पार्टीमा प्रवेश गरेका छैनन् । उनीहरुले मतदातालाई भावनात्मक लहर र आकर्षक नारा भन्दा दीर्घकालीन स्थायित्व, नीतिगत स्पष्टता र आन्तरिक लोकतन्त्रलाई आधार मानेर निर्णय लिन आग्रह गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x