नेपालमा वैदेशिक हस्तक्षेप बढ्यो– झलनाथ खनाल
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा नेता झलनाथ खनालले नेपालको आन्तरिक राजनीतिमा वैदेशिक हस्तक्षेप बढेको बताएका छन् ।शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेता खनालले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता संसद्बाट पारित भएपछि अमेरिकी टोलीले नेपालको उत्तरी क्षेत्रका उम्मेदवारहरूसँग काठमाडौँको होटल म्यारियटमा भेटघाट गरेको उल्लेख गर्दै यो घटना रहस्यमय रहेको बताए ।
उनले प्रधानमन्त्री पनि सोही क्षेत्रको भ्रमणमा गएको प्रसङ्ग जोड्दै यस्ता गतिविधिले नेपालको आन्तरिक मामिलामा बाह्य प्रभाव बढेको संकेत गरेको दाबी गरे । खनालले भने, ‘एमसीसी पारित भएपछि अमेरिकी सक्रियता र चासो बढेको छ। यो वैदेशिक हस्तक्षेपको स्पष्ट उदाहरण हो ।’उनले राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न जनतालाई जागरुक हुनुपर्नेमा जोड दिए ।
खनालले देशको विद्यमान संकट समाधानका लागि ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’बाहेक अर्को विकल्प नभएको बताए । २०६२र६३ को जनआन्दोलनलाई ‘पुँजीवादी जनवादी क्रान्ति’को संज्ञा दिँदै यसले देशमा समाजवाद ल्याउन नसकेको टिप्पणी गरे ।
वर्तमान राजनीतिक परिदृश्यलाई मार्क्सवादी दृष्टिकोणबाट विश्लेषण गर्दै खनालले तीन प्रकारका शक्तिहरू सक्रिय रहेको बताए । पहिलो, पुनरुत्थानवादी शक्ति, दोस्रो, यथास्थितिवादी शक्ति र तेस्रो समाजवादी क्रान्तिकारी शक्ति ।
देशको आर्थिक समृद्धिका लागि क्रान्तिकारी भूमिसुधार र कृषिको आधुनिकीकरण अनिवार्य रहेको खनालले बताए । वर्तमान शिक्षा प्रणालीको आलोचना गर्दै उनले नयाँ पुस्तामा पूर्वीय सभ्यता र संस्कार हराउँदै गएकोमा चिन्ता व्यक्त गरे ।
खनालले नेपालको अर्थतन्त्रलाई विविधीकरण गर्न उत्तरी नाकाहरूलाई आधुनिक ढङ्गले खोल्नुपर्ने प्रस्ताव गरे । आसन्न निर्वाचनलाई समाजवादको आधार तयार पार्ने ‘कार्यनीतिक अवसर’को रूपमा लिनुपर्ने उनले बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE