विकासको गति कसैलाई रुखमा झुन्ड्याएर नबढ्ने रास्वपा वरिष्ठ नेता बालेन लक्षित कांग्रेस सभापति थापाको टिप्पणी
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विकासको गति कसैलाई रुखमा झुन्ड्याएर नबढ्ने टिप्पणी गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनलाई लक्षित गर्दै सभापति थापाले यस्तो टिप्पणी गरेका हुन् । सर्लाहीमा आयोजित चुनावी कार्यक्रममा सभापति थापाले विकासको गति सुधार गर्नका लागि कानुनी संरचनामा सुधार गर्नुपर्ने बहस गर्नुपर्ने बेला छिटो काम नगरे रुखमा झुन्ड्याइदिन्छु भन्ने सोच सुनिएको बताए ।
केही दिनअघि रास्वपाको सुदूरपश्चिमको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शाहले २ वर्षमा सक्नुपर्ने काम २० वर्षसम्म नसक्ने प्रवृत्ति रहेको बताउँदै रास्वपाले डेढ वर्षमै सकाउने बताएका थिए । सँगै समयमा काम नगर्ने ठेकेदारलाई रुखमा झुन्ड्याइदिने अभिव्यक्ति दिएका थिए ।त्यसको प्रतिवादमा कांग्रेस सभापति थापाले यस्तो बताएका हुन् ।
सबैलाई फटाहा भनेर आफ्नो हातमा चाबुक छ भन्दै तर्साएर मात्रै विकासले गति नसमात्ने उनको भनाइ छ । यस्तो चिन्तनले सुधार गर्छु भन्यो भने पनि दुर्घटना हुनसक्ने उनको आशंका छ ।
सभापति थापाले देशलाई सुधार, सुशासन, विकास चाहिएको बताउँदै त्यो विधिको मूल्यमा नभएको बताए ।
सडक समयमा नबनेको भन्ने गुनासो सबैसँग रहेको बताउदै उनले त्यसमा आफूले काम गर्दा कम्तीमा पनि ४१ वटा कानुनले अवरोध सिर्जना गर्दो रहेछ भन्ने थाहा पाएको उल्लेख गरे ।
ऊर्जाको योजना बनाउन एउटा प्रवद्र्धकले लाइसेन्स लिएपछि २७ वटा ढोकामा जानुपर्ने आफूले पाएको सभापति थापाले बताए । यस्ता गति सुधारे मात्रै काम छिटो हुने उनले बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE