निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न/नगराउन ध्यानाकर्षण
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसहिंतामा तोकिएको मापदण्डविपरित पार्टीका झण्डा, पम्प्लेट र चुनाव चिन्ह एवं निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न÷नगराउन सबै राजनीतिक दल र उम्मेदवारलाई ध्यानाकर्षण गराएको छ ।
आयोगले सोमवार पत्रकार सम्मेलनको आयोजना दलहरुलाई यस्तो ध्यानाकर्षण गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले केही राजनीतिक दल तथा उम्मेदवारहरूले आफ्ना झण्डा तथा निर्वाचन चिन्ह बोकाउने, लोगो प्रदर्शन गराउने, सांस्कृतिक कार्यक्रम र जुलुसमा सहभागी गराउने जस्ता गतिविधिमा बालबालिकालाई प्रयोग गरेको सम्बन्धमा उजुरी प्राप्त भएको भन्दै त्यसतर्फ राजनीतिक दलहरुलाई सचेत गराए ।
उनले नेपालको संविधानको धारा ३९, बालबालिका सम्बन्धी ऐन, २०७५ तथा निर्वाचन आचारसंहिता, २०८२ को प्रावधान उल्लेख गर्दै बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सर्वाङ्गीण विकासको अधिकार सुनिश्चित गर्नुपर्ने संवैधानिक दायित्व रहेको समेत सरोकारवाला पक्षलाई स्मरण गराए । निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ (१) (ट) मा निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै उनले उक्त आचारसंहिता उललङ्घन भएको पाइएमा एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी रद्दसम्मको कारबाही हुन सक्ने चेतावनी समेत दिए ।
उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गराउन निर्वाचन आचारसंहिताको पूर्णरुपमा पालना गर्न समेत सबै राजनीतिक दल एवं उम्मेदवारहरुलाई आह्वान गरे।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE