शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

कर्फ्यू लगाएर सरकारले त्रास फैलायो : एमाले

काठमाडौं। सरकारले निषेधाज्ञा र कफ्र्यु लगाएर त्रास सिर्जना गरेको एमालेले आरोप लगाएको छ । फागुन २१ मै चुनाव हुनुपर्ने बाताउदै एमालेले कुनैपनि बहानामा निर्वाचनको मिति सार्ने काम गर्न नहुनेमा जोड लिएको छ । आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति छ ।
नेकपा मालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन कुनैपनि बहानामा सार्न नहुने स्पष्ट पारेको छ । एमालेका केन्द्रिय प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले मंगलवार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै निर्वाचन सार्ने गरी भइरहेका विभिन्न भ्रामक हल्ला र षडयन्त्रप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । निर्वाचनको मिति आउन अब ९ दिन मात्र बाँकी रहँदा मुलुक निर्वाचनमय भइसकेको अवस्थामा निर्वाचन सार्ने कुरा एमालेका लागि स्वीकार्य नहुने उनले चेतावनी दिए ।

प्रचार विभाग प्रमुख शाहीले तराई–मधेसका विभिन्न जिल्लाहरूमा जारी निषेधाज्ञा र कफ्र्यूले मतदाताको संवैधानिक अधिकार कुण्ठित गर्नसक्ने भन्दै चिन्ता व्यक्त गरे ।उनले सरकारलाई तत्काल भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने प्रत्याभूति गराउन माग गरे । नेकपा एमाले यतिबेला नेपाली जनताको भरोसाको केन्द्र बनेको दाबी गर्दै शाहीले एमालेको बढ्दो लोकप्रियताले अन्य शक्तिहरू अत्तालिएको बताए । एमालेले स्थायित्व, समृद्धि र सुशासनको स्पष्ट कार्ययोजनासहित अघि बढेको र आगामी निर्वाचनमा १३८ सिटसहित स्पष्ट बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने उनले ठोकुवा गरे ।शाहीले महान्यायाधिवक्ताको कार्यालयले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई आममाफी दिने तयारी गरेको भन्दै आलोचना गरे । जेन–जी प्रदर्शनका क्रममा भएका घटना, सहकारी ठगी र सम्पती शुद्धीकरण जस्ता गम्भीर मुद्दामा लागेकाहरूलाई निर्वाचनको मुखमा सफाइ दिनु ‘न्याय मार्नु’ सरह भएको उनको तर्क छ ।त्यस्तै, प्रतिनिधि सभा विघटनको मुद्दालाई सर्वोच्च अदालतले संवैधानिक परीक्षणमा लैजान आलटाल गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

निर्वाचनको संवेदनशील घडीमा केही सञ्चार माध्यमहरूले प्रायोजित र एकपक्षीय मत सर्वेक्षण सार्वजनिक गरेर मतदाताको मनोविज्ञान प्रभावित पार्न खोजेको एमालेको ठहर छ । शाहीले यस्ता कार्यले पत्रकारिताको विश्वसनीयता गुम्ने र निर्वाचन आचारसंहिताको उल्लंघन हुने बताए । साथै, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी ‘डिप फेक’ भिडियो र भ्रामक अडियोहरू निर्माण गरेर एमाले नेतृत्वको बद्नाम गर्ने प्रयास भइरहेको भन्दै उनले नियामक निकायको ध्यानाकर्षण गराए ।निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा प्रभावकारी भुमिका खेल्न नसकेको शाहीको आरोप छ । केही राजनीतिक दलले निर्वाचन चिन्ह अंकित टिसर्ट र अन्य भौतिक सामग्रीहरू वितरण गरिरहँदा पनि आयोग ‘मूकदर्शक’ बनेको उनकोदाबी छ।

प्रचार विभाग प्रमुख शाहीले धादिङको भैंसीगौडामा भएको बस दुर्घटनामा १९ जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरे । मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले पीडित परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचारका लागि सरकारसँग माग गरे।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x