निर्वाचनको मिति नजिकिँदै जाँदा सुरक्षा व्यव्स्था कडा बनाईदै ।
काठमाडौं। प्रतिनिधिसभा निर्वाचनका लागि मतदान गर्न केहि दिन मात्र बाँकी रहेको छ । आउदै गरेको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन सरकारले सुरक्षा व्यवस्था बजबुत बनाएको छ ।
अन्तरिम सरकार निर्वाचन आयोग लगाएत सम्पूर्ण सरोकारवाला निकायले सुरक्षामा कुनै कसर बाकी नराख्ने जनाउदै आएका छन् । निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना, निर्वाचन प्रहरीको सहकार्यमा मतदान केन्द्रदेखि मतपेटिका ढुवानीसम्म कडा सुरक्षा व्यवस्था गरिएको छ । विशेष परिस्थितिका कारण नियमित समय भन्दा अघि हुन लागेको निर्वाचनलाई लिएर दलहरुले सुरक्षाका लागि आशंका उब्जाइरहेका बेला नेपाल सरकारका प्रवक्ता एवं गृहमन्त्री ओम प्रकाश अर्यालले सुरक्षा व्यवस्था मजबुत बनाइएको र जेन जी आन्दोलनका बेला भागेका कैदीबन्दी तथा लुटिएका हात हतियार कुनै चुनौती नरहेको बताउदै आएका छन् ।
सरकारले दाबी गरेजस्तै देशका बिभिन्न चोक चोकमा टोल टोलमा सुरक्षाकर्मीहरुको गस्ति, चेकजाच बढाइएको छ । निर्वाचनको मिति नजिकिएसँगै नेपाली सेनाले पनि गस्ती गर्ने गरेको छ । सुरक्षामा कुनै कसर बाकी नराख्ने भनेर सरकारले दिएको आश्वासन र सरकारले
बढाएको सुरक्षा व्यवस्थाका कारण आफुहरुलाई निर्धक्क भएर मतदान गर्न जान सकिने विश्वास लागेको सर्वसाधारण बताउछन् ।
सामाजिक सञ्जालमा फैलाइएका उत्तेजक सामग्री, राजनीतिक दलबीचको तीव्र प्रतिस्पर्धा, आन्तरिक विद्रोह र हाइप्रोफाइल उम्मेदवारका कारण निर्वाचन सुरक्षा जटिल बन्दै गएको भन्दै चारवटै सुरक्षा निकायले आफ्ना युनिटलाई उच्च सतर्कतामा राखेका छन् ।सुरक्षा निकायका अनुसार सामाजिक सञ्जालमार्फत फैलिने अफवाह, घृणात्मक अभिव्यक्ति र दुष्प्रचारले कुनै पनि बेला उत्तेजना भड्किनसक्ने जोखिम देखिएपछि उच्च सतर्कता अपनाइएको हो । निर्वाचनका लागि नेपाल प्रहरी मातहत १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी मातहत १५ हजार १ सय १० निर्वाचन प्रहरी छनोट भएका थिए । निर्वाचन सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट करिब १ लाख ९० हजार सुरक्षाकर्मी खटाउने सरकारको निर्णय छ । मतदानको दिनमा पनि अत्यावश्यक सेवाका सवारीसाधनहरू, कूटनीतिक नियोगका सवारीसाधनहरू र निर्वाचनको दिनमा प्रयोग गर्नेगरी पास प्राप्त गरेका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधनहरू फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालनमा रोक लगाउन आयोगले भनेको छ । यसैगरी मतदानको दिनमा अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानहरू यथावत् सञ्चालनको व्यवस्था मिलाउने, अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका हवाई उडानका लागि टिकट भएका यात्रुहरूलाई विमानस्थलदेखि घर÷बसोबास गर्ने होटलसम्म र घर÷बसोबास गर्ने होटलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था मिलाउन पनि आयोगले स्पष्ट पारेको छ ।
सरकारले ढुक्क भएर निर्वाचनमा भोट हाल्ने वातावरण बनाउन सुरक्षा व्यवस्था थप मजबुत बनाएको दाबी गर्दै आएको छ र सरकारको दाबी व्यवहारमा पनि लागु भएकाले निर्धक्क भएर मतदान गर्न कुनै कसर बाकी राख्न नहुने सरोकारवाला बताउछन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE