धनुषा ३ मा प्रसूति अस्पताल, रङ्गशाला र मल कारखाना बनाउने विमलेन्द्र निधीको प्रतिवद्धता
काठमाडौं। नेपाली काँग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार विमलेन्द्र निधीले आफ्नो क्षेत्रको विकासका लागि स्वास्थ्य, कृषि र खेलकुदलाई मुख्य प्राथमिकतामा राखेर योजनाहरू सार्वजनिक गरेका छन् ।
चुनावी अभियानका क्रममा बोल्दै नेता निधीले जनकपुर उपमहानगरपालिका बाहेकका अन्य तीन वटा पालिकाहरूमा महिला तथा बालबालिकाका लागि विशेष स्वास्थ्य सेवा विस्तार गर्ने घोषणा गरे । जनकपुरमा धेरै अस्पतालहरू खुलेका तर जनकपुर भन्दा दक्षिणका तीनवटा पालिकाहरूमा आफूले तीनवटा प्रसूति र तीनवटा बाल अस्पताल निर्माण गर्न चाहेको बताए । मधेस प्रदेश कृषि प्रधान क्षेत्र भएपनि किसानले सधैं मलको अभाव झेल्नुपरेको उल्लेख गर्दै निधीले नेपालमै मल कारखाना खोल्ने प्रतिवद्धता व्यक्त गरे । उनकाअनुसार यसबाट किसानले समयमै मल पाउने मात्र नभई स्थानीय युवाहरूले ठूलो संख्यामा रोजगारी समेत प्राप्त गर्नेछन् । जनकपुरमा ‘राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला’ निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिँदै उनले यसलाई ‘स्पोट्र्स इकोनोमी’ खेलकुद अर्थतन्त्रसँग जोडे। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको १०० करोड अनुदानलाई यसै रङ्गशालामा खर्च गर्नेगरी समन्वय भइरहेको र जग्गाको लालपूर्जा समेत बनिसकेको उनले बताए । ऐतिहासिक धनुषाधामलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक पर्यटकीय स्थल बनाउने योजना पनि निधीले अघि सारेका छन् । जानकी मन्दिर र अयोध्या धाम जस्तै धनुषाधामलाई विस्तार गरी अन्तर्राष्ट्रिय लगानीकर्ताहरू भित्र्याउने उनको लक्ष्य छ । यसले धार्मिक पर्यटन मात्र नभई आर्थिक गतिविधि बढाउने र रोजगारी सिर्जना गर्ने उनको विश्वास छ ।
उनले भने, ‘धनुषा क्षेत्र नम्बर ३ को लागि मैले भन्दै आइरहेको छु कि यस क्षेत्रमा चारवटा पालिका छन्। जनकपुरमा त अस्पताल सरकारी गैरसरकारी धेरै खुले । पहिले तपाईं र म बाँकी तीनवटा पालिकामा जनकपुरभन्दा दक्षिण बाँकी तीनवटा पालिकाका मतदाताहरू खास गरी महिलाहरूका लागि र बालबालिकाहरूको लागि तीनवटा प्रसूति अस्पताल र तीन वटा बाल अस्पताल बनाउन चाहन्छु तीनवटा पालिकाहरूमा । त्यो मतदाताहरूलाई प्रत्यक्ष तपाईंको आवश्यकताको मैले महशुस गरिरहेको छु । त्यस्तै किसानहरूको लागि किसानहरूको लागि मल कारखाना खोल्न चाहन्छु । नेपालमै छैन । तर यो प्रदेश मधेस प्रदेश कृषि प्रधान देश हो तर मलको हाहाकार छ । त्यो पनि म गर्न चाहन्छु । त्यस्तै अर्को युवाहरूको रोजगारीको लागि यसमा पनि किसानले मल पनि पाउँछन् युवाहरूले रोजगारी पनि पाउँछन् यो मल कारखाना खोल्दा। अर्को मैले जनकपुरमै जो राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालाको यहाँ कथा भइरहेको छ । मोदीजीले तपाईंको एक सय करोडको घोषणा गर्नुभयो । कहाँ खर्च गर्ने भन्ने बारेमा धेरै दिनदेखि विवाद भयो । मैले पनि त्यसमा सक्रियता लिएर अग्रसरता लिएर जो स्टेडियम बनाउने कुरालाई मैले सहयोग गरिरहेको छु । जग्गा उपलब्ध भइसकेको छ स्टेडियमको नाममा लालपूर्जा बनिसकेको छ। यो जचुकालीको जनकपुर चुरोट कारखाना अगाडिमा । यहाँको उपमहानगरपालिका र मधेश प्रदेश सरकार दुइटै यसमा सहमति छ । नेपाल सरकार पनि सहमत छ । भारत सरकारको दूतावाससँग पनि कुराकानी गरिरहेको छु उनीहरू सकारात्मक छन् । म चाहन्छु त्यो अन्तर्राष्ट्रिय रङ्गशाला जनकपुरमा बनोस्। रङ्गशाला बन्नु भनेको युवाहरूको खेल शारीरिक रूपले पनि र मानसिक रूपले पनि बौद्धिक स्तर विकासको लागि पनि आवश्यक हुन्छ । त्यति मात्र होइन आजको जमानामा खेलकुद भनेको एउटा अर्थशास्त्र विषय भएको छ स्पोट्र्स इकोनोमी भन्छ त्यसलाई । अर्थशास्त्र विषय हो । यसले तपाईंको आर्थिक कारोबार हुन्छ युवाहरूलाई रोजगारी दिन्छ र यहाँ जनकपुरमा तपाईँको विकासको सम्भावनाहरू र व्यापारको सम्भावनाहरू खुल्ला हुन्छन् । त्यो काम पनि म गर्न चाहन्छु । धनुषाधामको जनै परेको छ । धनुषाधाममा रामजीले धनुष यज्ञ गर्दाखेरि धनुष भाँचिएको थियो। त्यसको एक टुक्रा धनुषाधाममा छ र त्यसको जति प्रचार प्रसार अन्तर्राष्ट्रिय रूपमा हुनुपर्ने हो त्यति भइरहेको छैन । म अन्तर्राष्ट्रिय स्तरको लगानीकर्ताहरूलाई ल्याएर आमन्त्रित गरेर धनुषाधामलाई तपाईँको जानकी मन्दिर जस्तै अयोध्या धाम जस्तै विस्तारित रूपमा तपाईँको निर्माण गराउन चाहन्छु, ठूलो बनाउन चाहन्छु र त्यसमा तपाईंको त्यो भयो भनेदेखि धार्मिक पर्यटन मात्र होइन आर्थिक गतिविधि बढ्छ र त्यसैमा पनि रोजगारी सिर्जना हुन्छ । यस्ता कामहरू म गर्न चाहन्छु र सँगसँगै म के चाहन्छु भनेदेखि तपाईंको अब अरु थप कुराहरू पनि छ । थप कुराहरू छ । अब अर्को कुरा छ यहाँ बर्न हस्पिटल छैन । यो जलेको उपचारको लागि जलन उपचारको लागि बर्न हस्पिटलको लागि पनि म प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । प्रणालीलाई कार्यान्वयन गर्ने नै हुन्छ । म त्यसैको लागि प्रतिवद्ध भएर आउँछु त्यसैको लागि भोट हाल्नुस् ।’
जनकपुरमा जलन बर्न अस्पतालको अभाव रहेको महशुस गर्दै उनले एक सुविधासम्पन्न बर्न हस्पिटल निर्माण गर्ने प्रतिवद्धता समेत जनाएका छन् । आफ्नो योजना र प्रणाली कार्यान्वयनका लागि आफू प्रतिवद्ध भएर आएको बताउँदै उनले मतदाताहरूलाई मतदान गर्न अपिल गरे ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE