इरानको प्रत्याक्रमणसँगै पूर्ण युद्ध : मध्यपूर्वभरी तनाव
काठमाडैं । अमेरिका र इजरायलले संयुक्त रूपमा आक्रमण शुरू गरेपछि इरानले पनि प्रत्याक्रमण शुरू गरेको छ । इरानका सरकारी सञ्चारमाध्यमहरूले स्थानीय समयअनुसार बिहान ९ बजेर ३० मिनेट जाँदा राजधानी तेहरानमा कैयन् ठूल्ठूला विस्फोट भएका बताएका छन् ।
अहिलेसम्म मानवीय र भौतिक क्षतिको यकिन विवरण थाहा हुन सकेको छैन । प्रत्याक्रमण शुरू गरेको बताएको इरानले कतारमा रहेको अमेरिकी सैन्य आधारशिविरलाई निसाना बनाएको छ । यस्तै इजरायलको सेना इजरेल डिफेन्स फोर्सेज ९आईडीएफ०ले इरानबाट क्षेप्यास्त्र प्रहारको पहिचान भएको र तिनलाई बीचैमा रोकिएको बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथीको आक्रमणलाई महत्त्वपूर्ण सैन्य कारबाही भन्दै इरानी सरकारी फौजलाई आफ्ना हतियार विसाउन भन्नुभएको छ । इरानले आक्रमण गर्न सक्ने भन्दै इजरायलविरुद्धको खतरा हटाउन आफूले पहिले आक्रमण गरेको इजरेली रक्षा मन्त्रालयले जनाएको छ ।
इरान वरपरका क्षेत्रमा अमेरिकी फौज एकत्रित भइरहेको बेला पछिल्लो आक्रमण भएको छ । इरानले परमाणु कार्यक्रम अन्त्य गर्न राजी नभए त्यहाँ आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पले धम्की दिँदै आउनुभएको थियो । इजरायल सरकारले सार्वजनिक स्थानहरूमा भेला नहुन र विद्यालयरू बन्द गर्न भनेको छ ।
इजरायलमा गैरसैनिक उडानहरु पूर्ण रूपमा बन्द गरिएका छन् । आठ महिना अघि पनि इजरायल र इरानबीच १२ दिनसम्म युद्ध चलेको थियो । इजरेलले इरानको सैन्य तथा परमाणुस्थलहरूमा बमबारी गरेर वरिष्ठ सैन्य अधिकारी तथा परमाणु वैज्ञानिकहरूलाई मारिदिएपछि इरानले पनि इजरायलतर्फ सयौँ क्षेप्यास्त्र तथा ड्रोनले आक्रमण गरेको थियो ।
त्यसबेला अमेरिकाले इरानको भूमिगत परमाणु केन्द्रहरूमा बमबारी गरेर युद्धविरामका लागि दबाब दिएको थियो । इजरायल र इरानबीच दशकौँदेखि दुस्मनी रहँदै आएको छ । इरानले कतारसँगै, युएई, बहराइन र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्ष्य गरेर हवाई आक्रमण गरेपछि मध्यपूर्वमा क्षेत्रीय तनाव उत्पन्न गराएको छ ।
मध्यपूर्वका सबैजस्ता देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरिसकेका छन् । मध्यपूर्व हुँदै उड्ने विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले पनि उडान रद्द गरेका छन् । धेरैजसो देशहरूले मध्यपूर्वमा रहेका आफ्ना नागरिकहरूलाई सुरक्षित बस्न भनेका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE