आशंका गर्नेहरू नै अहिले सरकारको पक्षमा, निर्वाचनले संवैधानिक प्रणालीलाई पूर्णता दिने गृहमन्त्रीको दाबी
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार गठनको शुरुवाती चरणमा आशंका र विरोध गर्नेहरू नै अहिले सरकारको काम देखेर विश्वास गर्न थालेको बताएका छन् ।
सार्वजनिक जिम्मेवारीमा रहँदा शंका र विश्वास दुवै हुनु स्वाभाविक रहेको बताउँदै उनले शंका गर्नेहरूसँगै निरन्तर संवादमा रहेर उनीहरूलाई विश्वासमा लिन सरकार सफल भएको दाबी गरे। प्रदेशस्तरीय सुरक्षा गोष्ठीहरूमा सबै दलका मुख्यमन्त्री र आन्तरिक मामिला मन्त्रीहरूले देखाएको सद्भाव र सहयोगले सरकारको मनोबल उच्च बनाएको उनको भनाइ छ। देशले ठूलो हिंसा र राष्ट्र नै जोखिममा पर्ने अवस्था देखिसकेको सन्दर्भ उल्लेख गर्दै मन्त्री अर्यालले देशलाई त्यो दुष्चक्रबाट रोक्न र स्थितिलाई सामान्यीकरण गर्न सबैको विधिको शासन र कानूनी राज्यको पुनर्बहालीका लागि निर्वाचन अपरिहार्य हो भन्ने चाहना रहेको र सरकार त्यसमा सफल भएको बताए ।
उनले भने, ‘आशंका र विश्वास सँगसँगै गर्नुभएको थियो शुरुदेखि नै । जसले यो सरकारकै विरोध गर्नुभएको थियो, सरकार गठनको प्रक्रियाको सम्बन्धमा उहाँहरू पनि निर्वाचनको विरोधी हुनुहुन्नथ्यो । उहाँहरूले शुरुदेखि नै भनेको के थियो भने यो सरकारले सुरक्षाको प्रत्याभुति दिन्छ र रु यो सरकारले निष्पक्ष रूपमा चुनाव गराउँछ भनेदेखि हामी चुनावमा भाग लिन्छौं शुरुदेखि भनेको कुरा नै त्यही हो । अब हामीले सुरक्षाको प्रत्याभुति पनि दियौं र हामीले निष्पक्षताको प्रत्याभुति पनि दियौँ । त्यो हाम्रो बोली, व्यवहार, आचरण सबैबाट देखिसकेपछि जसले शुरुमा अलि अलि अविश्वास गर्न खोज्नुभएको थियो अथवा त्यस्तो खालको कहीँ भाष्य आएको थियो भने पनि उहाँहरूले नै चुनाव जसरी पनि सफल बनाउनुपर्छ भन्नुभयो । अब खास गरेर अब यसमा त दलहरूको कुरा आउँदाखेरि हामी अब प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा जाँदाखेरि सबै दलकै त मुख्यमन्त्री हुनुहुन्थ्यो नि त्यहाँ । दलकै मुख्यमन्त्री हुनुहुन्थ्यो, दलकै त्यहाँको आन्तरिक मामिला मन्त्री हुनुहुन्थ्यो । उहाँहरू हाम्रो कार्यक्रममा आउनुभयो । उहाँहरूले नै हामीलाई झन् मनोबल बढाउने, हामीप्रतिको विश्वासलाई अझै बढाउने खालको अभिवृद्धि गर्ने खालको सहयोग, सद्भाव र उहाँहरूको क्रियाशीलता सबै देखिसकेपछि यो बटम अप एप्रोचबाट पनि कतिपय अवस्थामा माथिल्लो नेतृत्वले केही अर्को खालको भाष्य दिइराख्दाखेरि पनि र प्रदेश स्तरबाट फेरि प्रदेशको मुख्यमन्त्रीज्युहरू त्यहाँको आन्तरिक मामिला मन्त्रीज्युहरू त्यहाँको सारा संयन्त्रले फेरि यो निर्वाचन उन्मुख हाम्रा गतिविधिहरूलाई, हाम्रो त्यो सम्बन्धी कार्ययोजनालाई, त्यो हाम्रो कार्यादेशलाई सफल बनाउनको लागि मजबुत ढंगले नै हामीलाई सहयोग गर्नुभयो । त्यो गर्दाखेरि यो खालको विश्वासको वातावरण बन्दै आएको अवस्था हो ।’
निर्वाचन सम्पन्न भइसकेपछि संविधानको पूर्ण पुनर्बहाली हुने, संवैधानिक अङ्गहरू सुचारु हुने र त्यसपछि सुशासन, सेवा प्रवाह र समृद्धिको बाटो खुल्ने विश्वास गृहमन्त्री अर्यालले व्यक्त गरे ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE